३ सय ५५ मुसहर परिवारको हातमा पक्की घरको साँचो

 असोज २, २०७७ शुक्रबार २०:१०:१ | बाबुराम देवकोटा
unn.prixa.net

नमुना मुसहर बस्तीको घरको साँचो हस्तान्तरण गर्नुहुँदै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल । तस्बिर  : बाबुराम देवकोटा, सिन्धुली ।

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाका अति विपन्न मुसहर समुदायका तीन सय ५५ घर परिवारले दुई कोठे पक्की घर पाएका छन् । 

वाग्मती प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका ती घरको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक समारोहबीच उद्घाटन तथा साँचो हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्धिको यात्रा सरकारको मुख्य मिसन भएको भन्दै एकीकृत नमुना मुसहर बस्ती निर्माण अहिलेको संविधानको उपलब्धि भएको बताउनुभयो ।  

‘लामो सङ्घर्ष र बलिदानीपछि अहिलेको संविधान जारी भएको हो’, उहाँले भन्नुभयो, ‘अब कुनै पनि नेपाली भोकै र छाप्रोमुनि बस्नुपर्दैन ।’

कार्यक्रममा दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले नगरपालिकामा विपन्न मुसहर समुदायका सात सय ५० घर निर्माण गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा तीन सय ५५ घर निर्माण सम्पन्न भइ सम्बन्धित परिवारलाई साँचो हस्तान्तरण गरिएको बताउनुभयो ।

भवन निर्माण गर्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गाप्रसाद घिमिरेले जनता आवास कार्यक्रम अन्तर्गत दुधौली नगरपालिकामा मुसहर बस्तीमा दुई वर्षअघि घर बनाउन सुरु गरेको जानकारी गराउनुभयो । 

उहाँले दुधौली नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ९, १० र ११ मा मुसहर समुदायको तीन सय ५५ घर ११ करोड २२ लाख सात हजार ६ सय ५१ रुपैयाँको लागतमा निर्माण भएको सुनाउनुभयो । रङ्गीन जस्तापाताले लहरै बनेका घरले मुुसहरको नमुना बस्ती यतिखेर उज्यालिएको उहाँको भनाइ थियो ।

हुरी बतास, आगलागी र सर्पको त्रास खेप्दै आएका सिन्धुलीको दुधौली नगरपालिकाका मुसहर समुदायका व्यक्ति दुई कोठे पक्की नयाँ घरमा बस्न पाएपछि खुसी भएका छन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया