‘बालबालिकाकाे नाममा विदेशबाट डलर झार्ने काम बन्द गरियाेस्’

 असोज ५, २०७७ सोमबार १८:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाण्डाैमा डलर खेतीको धन्दा चलिरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधि सभाको महिला तथा समाजिक समितिको सोमबारको बैठकमा बालबालिकाका अवस्था र व्यवस्था सम्बन्धमा छलफल गर्दै सांसदहरुले कतिपय सङ्घ संस्थाले गाउँबाट बालबालिका ल्याएर काठमाण्डाैमा डलर कमाउने काम गरिरहेको बताएका हुन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद दुर्गाबहादुर रावतले बालबालिकासम्बन्धी काम गर्ने केही सङ्घ संस्थाले बाहिरी जिल्लाबाट १० वर्षसम्म पढाउने भन्दै २० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म अभिभावकसँग लिएर काठमाण्डाैमा ल्याइ बालगृहमा राखेर विदेशबाट डलर झार्ने काम गरिरहेको बताउनुभयो । 

टुहुरा बालबालिका, अपाङ्ग बालबालिका देखाएर व्यवसाय गर्ने सङ्घ संस्थाहरु काठमाण्डाैमा धेरै नै रहेको पनि रावतले बताउनुभयो । संविधान बनेपछि पनि ऐन कानुन, नीति नियम बन्ने चरणको अवस्थामा अनुगमन हुन नसक्दा यस्तो स्थिति देखा परेको उहाँले बताउनुभयो ।

नेकपाकै अर्की नेत्री थममाया थापाले गाउँबाट समस्यामा परेका बालबालिकालाई शहरमा ल्याइ काम गराउने प्रवृत्तिले बालबालिका अझ धेरै जोखिममा परेको बताउनुभयो । बालबालिकाको क्षेत्रमा राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन गर्नुपर्ने तर गलत काम गरी कमाउने ध्याउन्नमा लाग्ने संस्थालाई कारबाही गरी बन्द गराउनुपर्ने पनि उहाँले बताउनुभयो ।

नेकपाकै सांसद नारायणप्रसाद खतिवडाले पालिकाको ध्यान मोटरबाटो, खानेपानीलगायत क्षेत्रमा मात्रै केन्द्रित हुँदा सामाजिक विषयका गतिविधि पछाडि परेको बताउनुभयो । बालबालिकाको विकासका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालबालिका परिषद्ले आफ्नो धारणा प्रस्ट पार्नुपर्ने खतिवडाको भनाइ छ ।  

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सरकारको संरक्षणमा रहेका बालबालिका नै सबैभन्दा बढी जोखिममा रहेको बताउनुभयो ।  नेकपाकी सांसद गङ्गा चौधरीले बालबालिकाका लागि खोलिने बालगृहको नाममा अरबाैँ रुपैयाँकाे जग्गा जोड्ने तर बालबालिकाका लागि केही पनि नगर्ने प्रवृत्ति देखा परेको बताउनुभयो । 

त्यस्तै कारागारमा कैद भोगिरहेका व्यक्तिका बालबालिका अझ बढी समाजबाट तिरस्कृत हुने भएकाले त्यस्ता बालबालिकाको संरक्षणका लागि पनि सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्नेमा चौधरीले जोड दिनुभयो ।

नेकपा सांसद विमला विश्वकर्माले विभिन्न भाषा, संस्कृतिले बनेको समाजमा अझै पनि बालविवाह यथावत् रहनु र याे नरोकिनुमा ऐन कानुनको फितलो कार्यान्वयन भएको स्पस्ट हुने बताउनुभयो । 

बालबालिकाको अधिकारको सम्बन्धमा बनेका कानुनको कार्यान्वयनका लागि मन्त्रालयले विशेष रणनीति बनाउनुपर्नेमा उहाँको जोड छ । सांसदहरुले बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् । 

त्यसका लागि मन्त्रालयले नियमावली बनाइ काम गर्नुपर्ने सुझावसमेत सांसदहरुले दिएका छन् । मन्त्रालयले नियमावली बनाइ प्रभावकारी नियमन गर्न सके डलर खेती गर्नेहरुमाथि कारबाही हुने र बालबालिकाको अधिकारका लागि प्रभावकारी काम हुन सक्नेमा सांसदहरुको जोड छ । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया