राहत नदिए आन्दाेलन गर्ने पर्यटन मजदुरकाे भनाइ

 असोज ६, २०७७ मंगलबार १६:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरसका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने घाेषणा गरेका छन् । 

पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर सङ्घर्ष समितिले मङ्गलबार काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी केही दिनभित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो ।

सङ्घर्ष समितिका संयोजक प्रकाश घायल राईले लकडाउनका कारण लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाइ नभएकाले आन्दोलन गर्नुपर्ने स्थितिमा पुगेको बताउनुभयो ।

उहाँले तत्काल ‘मजदुर कल्याणकारी कोष’ को रकमबाट राहत दिनुपर्ने मागसमेत गर्नुभयो । धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

आफूहरुले पाँच वर्षयता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्नसमेत सरकारी निकायहरुले नमानेको उहाँले बताउनुभयो । आफैले जम्मा गरेको रकम ऋणको रुपमा समेत पाउन नसक्दा मजदुरहरु समस्यामा परेको उहाँको गुनासो छ ।

सरकारबाट लाइसेन्स प्राप्त २५ हजार मजदुरहरु अहिले समस्यामा परेकाले तत्काल राहत दिन उहाँले माग गर्नुभयो । अबको केही दिनभित्रमा पनि राहत नपाए सबै मजदुर सडकका उत्रने स्थिति आउने उहाँले बताउनुभयो । विपद्को बेलामा भोक लाग्यो भन्दा सरकारी निकायबाट सुनुवाइ हुँदैन भने आफूहरु वैचारिक र भौतिक रुपमा आन्दोलनमा उत्रने र त्यसबाट दुर्घटना भए जिम्मेवारी सरकारले लिनुपर्ने राईको भनाइ छ ।

गएकाे वर्षको चैत महिनायता कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प छ । जसका कारण हजारौँको सङ्ख्यामा रहेका पर्यटन मजदुरहरुको रोजगारी गुमेको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया