भेटियाे नेपाल–चीन सीमाकाे ११ नम्बर पिलर

 असोज ८, २०७७ बिहिबार १३:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल–चीन सीमा क्षेत्रको ११ नम्बर सीमास्तम्भ (पिलर) भेटिएको छ । नेपाल र उत्तरी छिमेकी देश चीन बीचको सिमानामा राखिएको ११ नम्बरको सीमास्तम्भ भेटिएको हो ।

हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) ले प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले सीमा स्तम्भ भेटिएको जानकारी दिएकाे बताउनुभयो । सीमास्तम्भ नाम्खा गाउँपालिका वडा ६ को टाकुलेमा पर्छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार सीमास्तम्भ फेला पारेको हो ।

‘सीडीओसहित नेपाली सेनाको सात, शसस्त्र प्रहरीको १४ जना गरी झण्डै २४/२५ जनाको टोली टाकुले पुगेको थियो’, गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयाे, ‘टोलीले ११ नम्बर सीमास्तम्भ भेटिएको भनेको छ ।’ सीमा स्तम्भ खोज्न टाेली आइतबार त्यसतर्फ लागेको थियो । तीन दिन लगाएर खोजी गरेपछि सीमास्तम्भ भेटिएको पनि उहाँले जानकारी दिनुभयो ।

‘सीमा भेटिएको गाउँपालिकाको म आफै अध्यक्ष हो, टोलीमा जाँदा म पनि सँगै थिएँ तर बीचमा गाउँपालिकाको कामले यतै रोकिए, अरु जानकारी पछि आउला’, उहाँले भन्नुभयो । हुम्लाको लिमी गाउँका बासिन्दाले नाम्खा गाउँपालिका ६ काे लाप्चामा चिनियाँ पक्षले भवन बनाएको र नेपालीले पहिला चौँरी चराउने ठाउँमा अहिले जान अवरोध गरेको गुनासोसहित समाचार आएको थियो । यो गुनासोपछि सीमा स्तम्भ खोज्न गएको प्रमुख जिल्ला अधिकारी गिरीसहितको टोली फर्किएको छ । शुक्रबारसम्ममा सदरमुकाम सिमीकोट आइपुग्नेछ ।

सिमीकोटबाट लाप्चा झन्डै एक सय पाँच किलोमिटरको दुरीमा पर्छ । सरकारले चीनसँग कुनै सीमा विवाद नभएको र चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताउनुभएको हो । लिमी उपत्यकामा जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको र टोलीले थप तथ्यहरु ल्याउने समेत उहाँले बताउनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, ‘२०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको रहेछ । त्यति बेला अन्तर मन्त्रालय छानबिन समिति (गृह, परराष्ट्र र नापी ) को टिमले स्थलगत अध्ययन गरेर एक किलोमिटर चिनियाँ भूमिभित्रै बनेको प्रतिवेदन तयार भएको थियो । अहिले त्यही ठाउँमा नै बनाएको जानकारी प्राप्त भएको छ । सीमा समस्या छैनन् । देखा परे पनि सौहार्दपूर्ण तरिकाले वार्ता गर्ने कुरा छँदैछ । स्थलगत अध्ययनमा गएको टोली फर्केपछि थप तथ्यहरु सार्वजनिक हुनेछन् ।’  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया