सीमामा भारतीय कदमका बारेमा चीन 'अलर्ट' हुनुपर्छ : ग्लाेबल टाइम्स

 असोज ११, २०७७ आइतबार १४:४९:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारत र चीनबीच सीमामा तनाव कम गर्नको लागि सैन्य र कुटनीतिक स्तरमा प्रयास भइरहेको छ तर दुवै देशका सञ्चारमाध्यममा भने यस विपरीतका समाचार प्रसारित भइरहेको छ । 

यसैबीच चीनको सरकारी अखबार ग्लोबल टाइम्सले सीमामा भारतको तर्फबाट गोली चल्न सक्ने र त्यसको ‘असहनीय परिणाम’ हुने बताएको छ ।  

भारतले सीमामा सैनिकको सङ्ख्या बढाउनु, चिनियाँ सेनासँगको कुनै पनि झडपमा गोली चलाउने अधिकार दिनुले दुवै देशबीचको तनाव अझै बढ्ने र भारतको लागि पनि यसको परिणाम खतरनाक हुने अखबारले पर्यवेक्षकलाई उद्धृत गर्दै लेखेको छ । 

भारतले चीनसँग तनाव कम गर्न सहमति जनाएको समयमा यस्तो आशङ्का बढेको अखबारले लेखेको छ । 

‘दुवै देशको सैन्य कमाण्डर स्तरको छलफलमा अग्रपङ्क्तिमा सैनिकको सङ्ख्या नबढाउने सहमति भए पनि भारतले सहमतिमा इमानदारिता नदेखाउँदा तनाव बढिरहेको छ’, अखबारले भनेको छ । 

अखबारले जानकारहरुको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘तनावलाई मध्यनजर गर्दै चीनले सीमामा भारतसँग अलर्ट हुनुपर्छ, कुनै पनि सम्भावित सैन्य सङ्घर्षको लागि तयार हुनुपर्छ किनकि भविष्यमा सीमामा यो सामान्य कुरा हुँदैछ ।’

यसअघि भारतको ‘द हिन्दू’ अखबारमा एक रिपोर्ट आएपछि ग्लोबल टाइम्सको तर्फबाट यस्तो रिपोर्ट आएको हो । 

यसमा भारतले चीनलाई स्पष्ट सन्देश दिँदै पीएलएका सेना अघि बढे भारतीय सेनाले उनीहरुमाथि गोली चलाउन सक्ने रिपोर्ट छापिएको थियो । एक शीर्ष भारतीय अधिकारीले अखबारसँग यस्तो बताएका थिए । 

अधिकारीले भनेका थिए, ‘अब हामीले चीनलाई अघि बढे हामी गोली चलाउँछौँ भनिसकेका छौँ । सैनिकलाई पनि आत्मरक्षाको लागि गोली चलाउन अधिकार दिइएको छ ।’

केही दिनअघि मात्रै पूर्वी लद्दाको प्योङयाङ नजिक भारत र चीनका सेनाबीच कैयौँ पटक हवाई पायरिङ भएको थियो । 

भारत र चीनबीच भएको छैटौ पटकको वार्तामा दुवै देशको सीमामा अब अरु सेना नपठाउने सहमति भएको थियो । भारतीय अधिकारीहरुका अनुसार भारत आफ्नो सीमा क्षेत्रमा आफ्नो उपस्थिति मजबुद राख्न चाहन्छ । 

गएको जुन १५ मा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा भारतका २० जना सैनिकको ज्यान गएको थियो । चीनले भने आफ्नो पक्षतर्फ कति हताहत भयो भन्नेबारेमा अझै जानकारी दिएको छैन ।

त्यसपछि सीमा क्षेत्रमा शान्ति स्थापना गर्न दुवै देशले पहल गरे पनि झडप भइरहेका छन् ।   

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया