रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर राखिने

 असोज १२, २०७७ सोमबार ११:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

बालगोपालेश्वर मन्दिरमा आज सोमबार गजुर प्रतिस्थापन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर स्थगित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरका अनुसार ठेकेदार कम्पनीको ढिलाइले अन्तिम समयमा आएर गजुर राख्ने काम रोकिएको हो । 

रानीपोखरीको नजिकै रहेको दरबार हाइस्कुलको एउटा कोठा मागेर बालगोपालेश्वर मन्दिरको गजुरमा जलप लगाउने काम भइरहेको छ । ‘गजुर निकाल्दा र राख्दा गर्नुपर्ने पूजाको विधि छ’ उहाँले भन्नुभयो, ‘विधिअनुसार बिहीबार प्राणप्रतिष्ठा हुनेछ ।’

सीएम तुलसी कन्स्ट्रक्सन जेभीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ । सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम थालिएको थियो । यसअघि गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम थियो । तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेन । 

पुनर्निर्माण भएको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा बनेको छ । बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीमा बनेको थियो । तर १९९० सालको भूकम्पले क्षति गरेपछि गुम्बज शैलीमा बनाइएको थियो ।

२०७२ सालको भूकम्पअघि बालगोपालेश्वर मन्दिर गुम्बज शैलीको थियो । अहिले पुनर्निर्माणका क्रममा विज्ञहरुको राय लिएर मल्लकालीन अर्थात ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको हो ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया