वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी विदेशमा अलपत्र श्रमिकको उद्धार गर : संसदीय समिति

 असोज १३, २०७७ मंगलबार १६:५७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । 

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक जुनसुकै कारण अलपत्र परेमा पनि कोषको रकमबाट उद्धार गर्न निर्देशन दिएको हो । 

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले कोरोनाका कारण अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश फर्काउन जारी गरेको निर्देशिका संशोधन गरी अन्यलाई पनि कोषको रकमबाटै फर्काउन निर्देशन दिएको हो । 

यस्तै समितिले रोजगारी गुमेर अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा फर्काउन परराष्ट्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी उडान सङ्ख्या थप गर्न पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ  । 

समितिले घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक पठाउने ठोस कानुन र नेपाल र सम्बन्धित रोजगारदाता देशबीच दुई पक्षीय सम्झौता नभएसम्म नपठाउन पनि निर्देशन दिएको छ । तर घरेलु कामदार लान चाहने देशमा घरेलु कामदारको सेवा, सर्त र सुरक्षा सम्बन्धमा छुट्टै र ठोस कानुन व्यवस्था रहेको अवस्थामा भने पठाउन सकिने भनिएको छ । 

यस्तै घरेलु कामदारमाथि शारीरिक, मानसिक र यौन जन्य हिंसा गर्ने स्पोनसर, मालिक वा परिवारको सदस्यलाई कडा कारबाही गर्ने सम्बन्धमा सम्बन्धित देशको कानुन रहेको अवस्था र घरेलु कामदारले सहज तरिकाले आफ्नो परिवार र दूतावाससँग सम्पर्क गर्ने अवस्थामा मात्र पठाउन निर्देशन दिएको छ ।

यस्तै २०७२ बाट खाडीमा घरेलु श्रमिक पठाउन रोक लगाइएको अवस्थामा त्योभन्दा पहिले नै श्रम स्वीकृति लिएका तर अहिले बिदामा घर आएर फेरि त्यही काममा जानका लागि आउनेहरुलाई अनुमति दिन पनि समितिले भनेको छ ।

ठूलो रकम लिएर नेपालीहरुलाई अवैध बाटोबाट लग्दै मानव बेचबिखन जस्तो गम्भीर आपराधिक कार्यमा संलग्न म्यानपावरको दर्ता खारेज गरी कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।   

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया