संसद्को विशेष अधिवेशन बाेलाउन सरकारसँग माग गर्छाैँ : कांग्रेस

 असोज १४, २०७७ बुधबार २०:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकारलाई विशेष अधिवेशन आह्वान बोलाउन दबाब दिने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले विशेष अधिवेशन बोलाउनुपर्ने माग गर्ने भएको हो । 

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका विषयमा समेत छलफल भएको पदाधिकारी बैठकमा कोरोना रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक मात्रामा भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठानका लागि सरकारलाई दबाब दिन संसद्को विशेष अधिवेशन आह्वान गर्ने निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । 

बढ्दो भ्रष्टाचार तथा बेथितिको अहिलेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको कांग्रेसको भनाइ छ ।

बैठकमा वर्तमान सरकारका ज्यादतीका विरुद्धमा सडक र संसद्बाट एकसाथ सङ्घर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा. महतले बताउनुभयो । कांग्रेसले सामाजिक दुरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो । 

रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । केन्द्रीय कार्यसमिति बैठकमा पौडेल समूहले उठाएका विषयहरुमा जवाफ दिने बताइएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया