खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
मनाङ - मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ।
पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरुपमा पाएको योजना अहिलेसम्म अलपत्र छ ।
मनाङको पुरानो सदरमुकाम थोँचेबाट पल्लोगाउँ तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल विसं २०७३ असारमा ठेक्का लगाइएको थियो । विसं २०७४ साउन २३ मा सक्नुपर्ने सुरुको सम्झौता भए पनि अहिलेसम्म तीनपटकसम्म म्याद थप भयो तर कामको प्रगति छैन ।
भ्याटबाहेक तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब एक करोड ३२ लाख रुपैयाँ निकासा गरिसकेका छन् । पूर्वाधार कार्यालय मनाङका अनुसार अहिलेसम्म दूधखोला पुलको काम ४० प्रतिशत सकिएको छ ।
'फिल्डमा त्यति काम देखिँदैन । दुईतिर पर्खाल उठाएर मात्रै छाडिएको छ । पुल बन्ला भनेर वारिपारि सडक खनिसक्यौँ । वर्षौँ बितिसक्दा पुल बनेन', नासो गाउँपालिका अध्यक्ष चन्द्र घले भन्नुहुन्छ, 'ठेकेदारलाई कारबाही गर्नुको सट्टा म्याद थपेर झन् समस्या भयो ।'
यो पुल नबन्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई हिँड्न समस्या भएको छ भने चर्को ढुवानी तिरेर सामान ओसार्न बाध्य छन् स्थानीयवासी । मर्स्याङ्दी नदीमाथि हुम्डेमा पुल बनाउनका लागि जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को बोलपत्र निकाल्यो । श्री गाल्वा र क्याराभान कम्पनीले नै यसको ठेक्का पायो ।
भ्याटसहित चार करोड ५७ लाख रुपैयाँमा ठेक्का दिइएको यो पुल विसं २०७४ माघमा सक्नुपर्ने हो । समयमा काम नसकिएपछि २०७७ असारसम्म सक्ने गरी म्याद थपिएको थियो । पछिल्लो म्यादसम्म ४० प्रतिशतभन्दा काम हुन सकेन । तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छ वटा पुलको ठेक्का दिइएको थियो । यी दुईवटा मात्रै होइन, मनाङका छ वटै पुल निर्माणको जिम्मा क्याराभानले लिएको थियो ।
त्यसमध्ये लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलाको पुल ढिलो गरी सकिएर गाडी गुड्न थालेको छ भने अरु सबैजसो पुल अलपत्र अवस्थामा छन् । तिमाङखोलाको पुल अन्तिम चरणमा पुगेको बेँसीशहर-चामे सडक आयोजनाका प्रमुख सुमन अधिकारीले बताउनुभयो ।
'म्यार्दीमा केही सोलिङ बाँकी छ, तिमाङको सकिन लाग्यो', उहाँले भन्नुभयो, 'तिमाङमा त डिजाइन नै फेर्नुपर्ने भयो । त्यसैले केही ढिलो हुन गएको हो ।' विसं २०७४ असार ८ मा दुई करोड २६ लाख रुपैयाँ लागतमा तिमाङखोला पुलको सम्झौता भएको थियो ।
विसं २०७५ पुस ८ मा सक्नुपर्ने म्याद भए पनि अहिलेसम्म यसको म्यादसमेत थपिएको छैन । म्यार्दीको पुल निर्माण करिब सकिएपछि बाढीले बगाएको थियो । सडक डिभिजन कार्यालय दमौलीले मनाङमा दुईवटा पुल निर्माण गर्दै छ । पिसाङ र मुङ्जीमा निर्माणाधीन पुल अहिलेसम्म सकिएको छैन ।
तीन करोड ६९ लाख रुपैयाँ लागत अनुमानसहित डेढ वर्षमा सक्नुपर्ने पिसाङ पुल विसं २०७४ जेठमा सम्झौता भएको थियो । 'दुई पटकसम्म यसको म्याद थप भइसकेको छ । यद्यपि काम अझै बाँकी छ । पुस १४ सम्म म्याद छ, यसपालि सकिन्छ होला', डिभिजन सडक दमौलीका इञ्जीनियर नारायण पौडेलले भन्नुभयो, 'मुङ्जीको म्याद पुस १० सम्म छ । यही म्यादभित्र सक्न दबाब दिएका छौँ ।'
मुङ्जी पुल निर्माणका लागि विसं २०७४ पुस २६ मा सम्झौता भएको हो । यसको दुई वर्ष म्याद थियो । पुल निर्माणका लागि नौ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेको बताउनुभयो ।
'धेरैपटक भनिसक्यौँ, अनुगमनमा जाँदा कम्पनीका मान्छे भेटिँदैनन् । कहिलेकाहीँ सामान ल्याएजस्तो मात्रै गर्छन्', उहाँले भन्नुभयो, 'बाढीपहिरो झर्ने बेला काम गरेजस्तो देखाउने अनि बगाएर लैजान्छ । काम नगर्नेलाई सरकारले कारवाही गर्नुपर्छ ।'
'ठेकेदारले समयमा काम नगरीदिँदा मुख्य सडकमा कतै काठेपुल तर्नुपरेको छ भने कतै खोलामै गाडी छिराउनुपरेको छ । ठेकेदार अटेरी छ । धेरैपटक ताकेता गर्दा पनि सुन्दैन', मनाङकै एक उच्च कर्मचारी भन्नुहुन्छ । पुरानै ठेक्का अल्झाइराखेको क्याराभान कम्पनीलाई नै अहिले घोप्टेखोलाको बेलिब्रिज निर्माणको जिम्मा दिइएको छ ।
बेँसीशहर-चामे सडक आयोजनाले ३२ लाख रुपैयाँ लागतमा पुल बनाउने ठेक्का क्याराभानलाई सुम्पेको हो । अहिले थपिएको समयमा पनि काम नसके नियमानुसार कारबाही अघि बढाउने पूर्वाधार कार्यालय मनाङका प्रमुख नवीनचन्द्र अधिकारीले बताउनुभयो ।
'धेरैपटक म्याद थप भइसक्यो, यो सिजनमा जसरी पनि सक्नुपर्छ', उहाँले भन्नुभयो, 'सकिएन भने नियमानुसार कारबाही अघि बढाउने हो । अब म्याद थप्ने ठाउँ छैन ।' ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक-पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरे तर कुनै सुनुवाइ नभएको उनीहरु बताउँछन् । निर्माण कम्पनी क्याराभानका फिल्ड इञ्जीनियर नारायण लामाले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताउनुभयो ।
'हिउँद लागेपछि हिउँ पर्छ, बर्खामा बाढीपहिरो छ । भनेको बेला सामान ल्याउन सकिँदैन', उहाँले भन्नुभयो, 'कति पुल बनाउँदा बनाउँदै बगाएको छ । मौसमकै कारण तोकिएको समयमा काम गर्न नसकिएको हो ।' निर्माण सामग्रीको ढुवानीमा समस्या भएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ठेक्का ओगट्ने र काम नगर्ने ठेकेदारलाई आँखा चिम्लेर कारबाही गर्ने बताउनुभयो । 'अहिलेसम्मका योजना सङ्घ सरकारको थियो । केही योजना हाम्रो मातहत आएको छ', उहाँले भन्नुभयो, 'अहिले थपिएको म्यादभित्र काम नभए कारबाही हुन्छ । कुनै पनि बहानामा उम्किन मिल्दैन ।'
मनाङका अधिकांश ठेक्का क्याराभानले नै पाएको छ । अहिले यही कम्पनीले १० करोड रुपैयाँ लागतको जिल्ला कारागारको भवन निर्माण गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।