वैतेश्वर गाउँपालिका जग्गा काण्ड : १ हजार ८ सय वर्गमिटर बढी जग्गा जनप्रतिनिधिका आफन्तकाे नाममा

 असोज २२, २०७७ बिहिबार १५:४:१६ | उषा तामाङ
unn.prixa.net

दाेलखा – वैतेश्वर गाउँपालिकामा सोधभर्ना बापत जग्गाधनीहरुबाट प्राप्त भएको १८ सय वर्गमिटरभन्दा बढी जग्गा व्यक्तिको नाममा रहेको पाइएको छ । वैतेश्वर गाउँपालिकामा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जग्गा व्यवस्थापन अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनअनुसार गाउँपालिकालाई जग्गा दान गर्ने व्यक्तिलाई सोधभर्ना गर्न पालिकाका २८ जना व्यक्तिले १३ हजार दुई सय ५१ वर्ग मिटर जग्गा दिएका थिए । त्यही जग्गाबाट ११ हजार तीन सय ९३ वर्गमिटर जग्गा दान गर्ने दातालाई सोधभर्ना गरिएको थियो ।

बाँकी रहेको एक हजार आठ सय ५८ वर्गमिटर जग्गा जनप्रतिनिधि र जग्गा व्यवस्थापन समितिको नाममा पास भएको पाइएको छ ।

प्रतिवेदनअनुसार वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाका श्रीमती आइती तामाङको नाममा दुई सय ५५ वर्गमिटर जग्गा रहेको छ । त्यो जग्गा २०७५ असोज २५ गते वैतेश्वर गाउँपालिका ५ बस्ने पदमबहादुर दाहालले रजिस्ट्रेशन राजीनामाबाट बिक्री गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यकी श्रीमती सीता आचार्य र वैतेश्वर गाउँपालिका ६ का वडाध्यक्ष शमशेर घिसिङका श्रीमती निर्मला घिसिङको नाममा ६ सय वर्गमिटर जग्गा रहेको छ । 

त्यस्तै वैतेश्वर गाउँपालिका ३ का अध्यक्ष कृष्णबहादुर दाहालकी श्रीमती मनमाया दाहाल, वडा नम्बर २ का अध्यक्ष श्यामकुमार तामाङ घिसिङकी आमा लालकुमारी तामाङ, वडा नम्बर १ का वडाध्यक्ष विर्षबहादुर तामाङकी श्रीमती कमला तामाङको नाममा चार सय नौ वर्गमिटर जग्गा रहेको छ । यद्यपि जग्गा व्यवस्थापन समितिको निणर्यले जग्गा मिलान लेनदेन गर्दा लाग्ने खर्च जुटाउन उनीहरुलाई बिक्री गरेको जनाइएको छ ।

२०७६ माघ १३ गते सोधभर्ना गर्न गठित समितिका संयोजक शमसेर घिसिङको संयोजकत्वमा बसेको बैठकले यातयात खर्च, खाना खाजा, लिखत र राजस्वसमेतको खर्च व्यवस्थापनका लागि सोधभर्नाका लागि प्राप्त जग्गामध्ये केही क्षेत्रफल जग्गा घडेरीको रुपमा इच्छुक नागरिकलाई जग्गा प्राप्त गरेका समितिको सदस्यको नामबाट बिक्री गरी खर्च व्यवस्थापन गर्ने निणर्य गरेको थियो । त्यही निर्णयअनुसार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षले खरिद गरेको दाबी गरिएको छ ।

त्यसैगरी बाँकी रहेको आठ सय ४९ वर्गमिटरमध्ये ६ सय १४ वर्गमिटर जग्गा व्यवस्थापन समिति सदस्य बालकुमार दाहाल र दुई सय ३५ वर्गमिटर जग्गा व्यवस्थापन समिति सदस्य पदमबहादुर दाहालको नाममा रहेको देखिएको छ । उनीहरुको नाममा रहेको जग्गा सोधभर्ना हुन बाँकी रहेका व्यक्तिको रहेको छानबिन समितिका संयोजक शमसेर घिसिङले जानकारी दिनुभयो । उनीहरुको नाममा रहेको जग्गा गाउँपालिकाको नाममा जग्गा दान गर्ने व्यक्तिलाई सोधभर्नाबापत पाउन बाँकी जग्गाको क्षेत्रफल उपलब्ध गराइ बाँकी रहेको जग्गाको क्षेत्रफल गाउँपालिकाको नाममा याथाशीघ्र दान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।  

वैतेश्वर गाउँपलिकाको केन्द्र निर्माणका लागि २६ जना जग्गादाताले ४३ दशमलव ९० रोपनी अर्थात् २२ हजार तीन सय २५ वर्गमिटर दान गरेका थिए । त्यो जग्गा वैतेश्वर गाउँपालिकाको नाममा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया