अविश्वास प्रस्तावले सरकार परिवर्तन हुँदैन : प्रमुख सचेतक शाह

 असोज २६, २०७७ सोमबार १०:३८:१३ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली प्रदेशभित्र रहेको विवाद  छताछुल्ल भएको छ । मुख्यमन्त्री शाही पार्टीभित्रै अल्पमतमा पर्नु भएको छ । 

सत्तापक्षकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीले पार्टी र सरकारको नेतृत्व गर्न नसकेको आरोप लगाएका छन् । सरकार र संसदीय दलको नेता भएर प्रभावकारी काम गर्न नसकेको र पार्टीको उपस्थिति फितलो बन्न पुगेको भन्दै उनीहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन ।

कर्णाली प्रदेशमा ४० जना सांसद छन् । ३३ जना नेकपाका, ६ जना नेपाली काँग्रेसका र १ जना राप्रपाका सांसद छन । नेकपाका ३३ मध्ये एक जना सभामुखबाहेक ३२ जनाको संसदीय दल छ । ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलकै नेतामाथि अविश्वास गर्दै हस्ताक्षर गरेपछि मुख्यमन्त्री शाही अल्पमतमा पर्नुभएको हो । 

प्रदेशसभा गठनदेखि नै नेकपाभित्र छ भन्ने सुनिए पनि यसरी बाहिर आएको थिएन । दुई पार्टी एकीकरण हुनुअघि पूर्व एमाले र पूर्व माओवादी मिलेर प्रदेश सरकारको नेतृत्व गरिएको थियो । पूर्व एमाले संसदीय दलका नेता समेत रहेका सांसद यामलाल कँडेल  मुख्यमन्त्री बन्न चाहनुहुन्थ्यो । तर केन्द्रबाटै पूर्वमाओवादीले नेतृत्व गर्ने निर्णय गरेपछि सांसद कँडेलसहित पूर्व एमालेका सांसदहरु रुष्ट थिए । 

पूर्व एमालेका २० जना सांसद छन् भनेर पूर्व  माओवादीका १३ सांसद छन् । सत्तापक्षकै सांसदहरुले शाही मुख्यमन्त्री बनेदेखि नै सरकारका कामकारबाही प्रभावकारी नभएको भन्दै आलोचना गर्दै आएका थिए । अहिले मुख्यमन्त्री विरुद्ध पूर्व माओवादीका तीन जना सांसदले समेत हस्ताक्षर गरेका छन । हस्ताक्षर गर्नेमा उपसभामुख पुष्पा विष्ट घर्तीसहितका सांसद छन् । यसले पनि मुख्यमन्त्री शाही पार्टीभित्र अल्पमतमा पर्नुभएको छ । 

नेकपा कर्णालीको सह-इन्चार्ज समेत रहेका कँडेल मुख्यमन्त्री शाहीले प्रभावकारी काम गर्न नसकेको र दलभित्र पटक-पटक छलफल गर्दा पनि नेतृत्व प्रभावकारी ढंगले अघि नबढेकाले अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बताउनुहुन्छ । हस्ताक्षर गर्ने सांसदहरु कुनै प्रलोभनमा नपरेको पनि उहाँले प्रष्ट्याउनुभएको छ । 

सरकार परिवर्तन हुँदैन : सचेतक शाह

सत्तापक्षकै सांसदहरुले मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि संसदीय दलको बैठक बस्ने तयारी गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले भोलि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाउनु भएको छ ।

मुख्यमन्त्री तथा दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे पनि  यसले सरकार परिवर्तन नहुने प्रमुख सचेतक शाहले बताउनुभयो । उहाँले दलका नेता विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यो सरकार परिवर्तनको मुद्दा नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार परिवर्तनको मुद्दा होइन । सरकार परिवर्तन हुँदैन । दलमा  विवाद र समस्यालाई आन्तरिक रुपमा छलफल गरेर टुङ्गो लगाउँछौँ ।’ उहाँले संसदीय दलको बैठक बसेर छलफल गरिने जानकारी दिनुभयो । छलफलपछि मात्रै कसरी अघि बढ्ने भन्ने विषयमा टुङ्गो लाग्ने तर सरकार भने परिवर्तन नहुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया