बङ्ग्लादेशमा बलात्कारमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने

 असोज २६, २०७७ सोमबार २०:३१:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बङ्ग्लादेशमा बलात्कारमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने सक्ने प्रावधान राखिएकाे छ । बङ्ग्लादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको बीबीसीले जनाएको छ ।

बङ्ग्लादेशका कानुनमन्त्री अनिसुल हकले संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलबार जारी हुने र तत्काल लागू हुने बताउनुभएको छ ।

गएको हप्ता एक महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । त्यसपछि प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा मङ्गलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो ।

ऐन ओ सलिश केन्द्र नामक एउटा मानव अधिकारवादी संस्थाका अनुसार नौ महिनाको अवधिमा बङ्ग्लादेशमा कम्तीमा नाै सय ७५ जना महिला बलात्कृत भएका थिए । तीमध्ये दुई सयभन्दा बढी घटना सामूहिक बलात्कारका छन् ।

पीडितमध्ये ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेकाे तथ्याङ्क छ । बङ्ग्लादेशमा बलात्कारको मुद्दामा एक प्रतिशतभन्दा कम आरोपित मात्रै दोषी ठहर हुने गरेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया