‘ठेकेदारले सित्तैमा बिजुलीकाे पाेल बाेकाए, तीन वर्ष बितिसक्दा पनि बत्ती बलेन’

 असोज २९, २०७७ बिहिबार १४:११:३१ | रासस
unn.prixa.net

हुम्ला – हुम्लाकाे सिमकोट गाउँपालिका ८ काे स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापर्बाहीका कारण अहिलेसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका दुई सय ४७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । 

बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले स्थानीयवासीलाई बिजुलीका खम्बा बोकाएर ज्याला भने अहिलेसम्म नदिएको वडाध्यक्ष चक्र बुढाले बताउनुभयो । गाउँ नजिकको अर्को गाउँ माजसम्म बिजुलीका ३५ खम्बा पुगेको र ठेकेदार महतले जम्मा ८० हजार रुपैयाँ निकासा दिइ बाँकी नदिएर सम्पर्कमा नआएको जनाइएको छ  । 

गाउँमा बत्ती बाल्नका लागि वडा नं ८ स्याँडा कार्यालयले आठ लाख रुपैयाँ छुट्टयाएको भए पनि सदुपयोग नभएर खेर गएको छ । कार्यालयले गाउँबासीलाई निःशुल्क मिटरबक्स दिनका लागि आठ लाख छुट्याए पनि चार लाख खम्बामा खर्च भएको र चार लाख उपभोक्ताका खातामा बाँकी छ कि खर्च भयो भन्ने थाहा नभएको वडाध्यक्ष बुढाले बताउनुभयो । 

विसं २०७४ मा हिल्दुम साना जलविद्युत् आयोजना बिजुली पुर्‍याउने प्रक्रियामा लागे पनि तीन वर्ष बितिसक्दा पनि बिजुली नबलेको स्थानीयवासीले गुनासो गरेका छन् । विसं २०७५ मा पूर्वगाविस सचिवको कार्यकालमा स्याँडा गाउँलाई बत्ती बाल्ने भनेर रकम छुट्याइए पनि ठेक्काको जिम्मा लिएका ठेकेदारले काम पूरा गर्न नसकेको स्थानीयवासीले बताएका छन् ।  

दुवै क्षेत्रबाट त्याे रकम उपलब्ध नहुँदा त्यही गाउँका ज्याला मजदुरी गर्ने व्यक्तिले त्याे रकम नपाएको स्थानीयवासी किरण बुढाले गुनासो गर्नुभयो । स्थानीय बुढाका अनुसार त्यतिबेला सिमकोटको लाक्नाबाट १२ स्थानीयवासीले २० खम्बा बोेकेर गाउँ पुर्‍याएका थिए । 'ठेकेदारको चरम लापर्बाहीका कारण गाउँमा न त बत्ती बल्न सक्यो, न त काम गरेको ज्याला नै पाइयो', किरणले भन्नुभयो ।   

बेलाबेलामा ठेकेदारलाई सम्पर्क गर्न खोज्दा ठेकेदारले फोन नउठाएकाे उहाँको गुनासो छ । अहिले स्याँडा गाउँ बत्ती नबल्दा अन्धकारमय बनेको छ । खम्बा ओसारेका १२ कामदारले झण्डै पाँच लाख रुपैयाँ बराबर  ज्याला पनि पाएका छैनन् । यतिखेर त्याे ठाउँका लागि राखिएका तार र खम्बा पनि बीचैमा लथालिङ्ग  छन् ।

सम्बन्धित ठेकेदारलाई फेरि एक पटक अनुरोध गर्ने तर नमानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइने किरणले चेतावनी दिनुभयो । यस विषयमा कुरा गर्न खोज्दा ठेकेदार महतसँग सम्पर्क हुन सकेन ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया