एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

 असोज ३०, २०७७ शुक्रबार १०:२९:२९ | रासस
unn.prixa.net

डडेल्धुरा  - कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा-मेलौली सडकको केही भाग भासिएको हो । गएकाे आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका-१ पुइलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ ।

सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जोड्ने गरी निर्माण भएको छ । सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो । यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका छन् ।

आर्थिक वर्ष २०७४ र ७५ मा पहिलो पटक आठ किलोमिटर सडक कालोपत्रे गर्न  सडक डिभिजन कार्यालयले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । अमरगढी नगरपालिका-७ रातागौनबाट अजयमेरु गाउँपालिका-१ समैजीको बयलडाँगासम्म कालोपत्रे भएको सडकमा करिब डेढ दर्जन पर्खाल छन् ।

सडक निर्माणकै क्रममा पनि एक दर्जन पर्खाल भासिनुका साथै सडक छेउ छोडी भत्किएका थिए । त्यस बखत पर्खाल पुनः लगाइएका थिए । त्यतिबेला सडक कालोपत्रे गर्ने डडेल्धुराकै स्थानीय निर्माण व्यवसायी केएस कन्ट्रक्सन कारबाहीमा परेको थियो ।  त्यही निर्माण कम्पनीले अहिले पनि बयलडाँगाभन्दा अगाडि सडक खण्ड र पोखरा-बेलापुर सडक कालोपत्रे गरी रहेको छ ।

सबै ठाउँमा निर्माण कम्पनीले काम गर्न नसक्दा पेटी ठेकेदारको जिम्मा दिइने भएकाले गुणस्तर अनुसारको काम नभएको हुनसक्ने केएस कन्ट्रक्सनका तत्कालिन इञ्चार्ज तथा सब ओभरसेयर जीतबहादुर तामाङले बताउनुभयो  ।

यस्तै  डडेल्धुरा अस्पतालको भवन निमार्णसमेत ठेक्का पाएको केएस कन्ट्रक्सनले पोखरा, बेलापुर सडक खण्डबाट कमसल ढुङ्गा ल्याइएको र डडेल्धुरा अस्पताल निर्माण गरिरहेको स्थानीयको भानाइ छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया