२५ वर्षपछि बैतडीमा नियमित हवाई उडान सुरु

 असोज ३०, २०७७ शुक्रबार १५:९:११ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल बैतडीको पाटन विमानस्थलबाट हवाई उडान फेरि सुरु भएको छ । २५ वर्षपछि प्रदेशको अस्थायी राजधानी धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो  ।

विसं २०५२ सालदेखि बन्द रहेकोे विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । समिट एअरले हप्ताको एकदिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको हो ।  

पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी आएका र बैतडीबाट सात यात्रु लिएर समिट एअर धनगढी फर्केको प्रमुख बुढथापाले बताउनुभयो । पहिलो दिन शुक्रबार हवाई उडान गरिएको भए पनि अबदेखि बैतडीमा हप्तामा एक दिन मङ्गलबार नियमित उडान हुने समिट एअरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिनुभयो ।

धनगढीबाट हरेक मङ्गलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने उहाँले बताउनुभयो । धनगढीबाट बैतडीको भाडा तीन हजार आठ सय रुपैयाँ तोकिएको छ । पहिलो दिन धनगढीबाट विमानमार्फत बैतडी आउनुभएका पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नियमित उडानले खुसी लागेको बताउनुभयो । 

विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल फेरि सञ्चालनमा आएपछि उत्साह थपिको स्थानीय कृष्ण पन्तले बताउनुभयो  । यसले यहाँको आर्थिक र पर्यटन क्षेत्रमा समेत टेवा पुर्याउने उहाँको भनाइ छ । 

यसअघि यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले पाटन विमानस्थलको निरीक्षणसमेत गरेको थियो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया