निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

 कात्तिक २, २०७७ आइतबार ९:५१:२९ | रासस
unn.prixa.net

काठमाण्डौ - निजगढ-काठमाण्डौ द्रुतमार्गसँग हेटौँडा-काठमाण्डौ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । 

वाग्मती प्रदेश सरकारले काठमाण्डौ-निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो । सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी सुरु गरेको छ ।

सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाण्डौ-निजगढ द्रुतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका-८ र इन्द्रसरोवर गाउँपालिका-३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा-काठमाण्डौको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो ।

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित बिन्दुको अवलोकन गर्नुभएको थियो ।

उपाध्यक्ष डा कँडेलले द्रुतमार्गको प्रारम्भमा यस मार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताउनुभयो । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उहाँको भनाइ थियो ।

पहिलो चरणमा व्यवहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुङ्गो लाग्ने बताउनुभयो । उहाँले दुई द्रुतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारले नेपाल सरकारले यसमा सहयोग र सहकार्य गर्ने बताउनुभयो । ‘प्रदेशले हेटौँडा-काठमाण्डौको दूरी ५४ किलोमिटरमा छोट्याउने जुन लक्ष्य लिएको छ, त्यो सरहानीय छ, नेपाल सरकारले यसलाई सहयोग गर्छ’, विज्ञ थपलियाले भन्नुभयो ।

मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टट्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ । अहिले पूर्वी नेपाल र तराईका साना सवारीबाहेकका गाडी हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटर काठमाण्डौ गरी २२८ किलोमिटर लामो यात्रा गर्न बाध्य रहेको उहाँको भनाइ छ ।

५४ किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका गाडीको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने उहाँ बताउनुहुन्छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताउनुहुन्छ । सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र चाँडै नै कालोपत्रको काम सुरु हुने उहाँको भनाइ छ ।

उहाँले प्रदेश सरकारले गौरवको योजनाको रूपमा सुरुङसहित स्तरीकरणको काम गर्न लागेको र भैँसे-भीमफेदी सडक विस्तारको योजनासमेत कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया