खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
चितवन – प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ । निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका प्रमुख डाक्टर बाबुराम लामिछाने र त्यहीँका भेटेरिनरी डाक्टर अमिर सडौला सदस्य रहेको समिति बनाएको छ । संयोजक रानाभाटका अनुसार समितिको बैठक बसेर अध्ययनका विषयबारे छलफल अघि बढाइएको छ ।
गैँडा मरेका क्षेत्रमा केही दिनमा स्थलगत अध्ययन गरिने तथा बृहत् छलफल र विगतका तथ्याङ्कहरुको अध्ययन गरी कारण पहिचान गरिने रानाभाटले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा अहिलेसम्ममा एउटा गैँडा चोरी सिकारका कारण तथा आठ गैँडा प्राकृतिक कारणले मरेका छन् । अधिकांश गैँडा कसरादेखि पश्चिमतर्फको क्षेत्रमा मरेका थिए । रानाभाटका अनुसार गैँडा मरेका ठाउँको स्थलगत अध्ययनसँगै हरेक गैँडाको मृत्युका कारणको खोजी, बासस्थानको अवस्थालगायत बारेमा अध्ययन गरिने छ ।
यसअघि पनि निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित टोलीले प्राकृतिक कारणबाट गैँडा मर्नुको कारणको अध्ययन गरेको थियो । निकुञ्जमा प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको उपस्थितिमा भएको बैठकले स्थानीयस्तरमा समिति गठन गरी गैँडा मृत्युका कारण खोजी गर्ने निर्णय गरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि त्यसको न्यूनीकरणका लागि उपायहरुको खोजी गर्न लागिएको हो ।
मुख्य रुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर तथा एक अर्कोसँग जुधेर मर्ने गरेका छन् । बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ । नदी किनारका मानव निर्मित तटबन्ध पनि बाधक बन्ने गरेका छन् । नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । नदीले बगाएर गण्डक बाँध पार गरेपछि गैँडा बाहिर आउन कठिन हुने गरेको छ ।
गएकाे वर्ष प्राकृतिक कारणले निकुञ्जमा २६ गैँडा मरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४३ थियो । सन् २०१५ मा निकुञ्जमा गरिएको गणनाअनुसार यहाँ ६ सय पाँच गैँडा रहेका छन् । त्यसयता गैँडा स्थानान्तरण र बाढीका कारण केही घटेका छन् भने प्रजनन भएर केही बढेको अनुमान छ । हरेक चार–चार वर्षमा गैँडा गणना गरिन्छ । गएकाे आर्थिक वर्षमा गैँडा गणना कोरोनाका कारण रोकिएको थियो । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।