ललितकलामा विश्व रेकर्डको तयारी

 कात्तिक ३, २०७७ सोमबार ७:२:३६ | रासस
unn.prixa.net

काठमाण्डौ - ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारहरु जुटेका छन् ।

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लूएस) नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा (चार दिन चार रात र चार घण्टा) लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको हो । समाजले आज  पत्रकार सम्मेलन गरी कार्यशालाबारे जानकारी गराएको हो । यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ । 

कोभिड-१९ को सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही कात्तिक २३, २४, २५ र २६ गते ७२ कलाकारको सहभागितामा १०० घण्टे ‘अनलाइन कला कार्यशाला’ आयोजना हुने आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।

उहाँले कार्यशालाबारे गिनिज बुक अफ वर्ल्ड रेकर्डसँग पत्राचारको काम भइरहेको बताउनुभयो । यस कार्यक्रमले नेपाली ललितकला र त्यसमा काम गर्ने कलाकारलाई विश्व सामु चिनाउने र नेपाली कलाको शिर ठाडो पार्ने विश्वास लिइएको छ ।

यसका लागि  नेपाली कलाकार छनोट भइसकेको र आवश्यक तयारी सुरु भएको आइडब्लूएस नेपालका सचिव केशवराज खनालले जानकारी दिनुभयो । कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ ।

कला समीक्षक रमेश खनालले १०० घण्टा लामो कला कार्यशालाले नेपालको गरिमा बढाउने विश्वास व्यक्त गर्नुभयो ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया