कोरोना खोप : परीक्षणमा सहभागी एक स्वयंसेवकको ज्यान गयो, परीक्षण नराेकिने

 कात्तिक ६, २०७७ बिहिबार १३:२४:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार कोभिड–१९ खोपको क्लिनिकल परीक्षणका क्रममा एक स्वयंसेवकको ज्यान गएको बताएको छ । स्वयंसेवकको ज्यान गए पनि परीक्षण भने यथावत् रहने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ब्राजिलमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस खोपको परीक्षण चलिरहेको छ, जसलाई एस्ट्रेजेनेका नामक कम्पनीले ठूलो परिणाममा उत्पादन गर्दैछ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार अक्सफोर्डले खोपको परीक्षण यथावत् राख्ने बताउँदै एक विज्ञप्तिमा भनेको छ, ‘क्लिनिकल परीक्षणको सुरक्षालाई लिएर चिन्ता लिनुपर्ने कुनै कारण छैन ।’
यस विषयमा अहिलेसम्म एस्ट्रेजेनेकाले कुनै प्रतिक्रिया दिएको छैन । 

रोयटर्सले एक सूत्रलाई उद्धृत गर्दै भनेको छ, ‘ज्यान गुमाएका स्वयंसेवकलाई कोभिड–१९ को खोप दिइएको भए परीक्षण बीचमै रोकिने थियो । तर उनलाई कोभिड–१९ को खोप दिइएको थिएन, बरु मेनिन्जाइटिसको खोप दिइएको थियो ।’

ब्राजिलमा भइरहेको तेस्रो चरणको यस क्लिनिकल परीक्षणको सञ्चालन गरिरहेको साओ पाउलोको सङ्घीय विश्वविद्यालयले यस सम्बन्धमा एक स्वतन्त्र समीक्षा समितिले पनि परीक्षण यथावत् राख्ने सुझाव दिएको बताएको छ । 

यसअघि विश्वविद्यालयले ज्यान गुमाउने स्वयंसेवक ब्राजिलका नागरिक भएको बताएको थियो ।  

सीएसएन ब्राजिलका अनुसार ज्यान गुमाउने स्वयंसेवकको उमेर २८ वर्ष रहेको र उनी रियो दे जेनेरियोमा रहँदै आएका थिए । कोभिड–१९ का कारण भएको कठिनाइका कारण उनको ज्यान गएको हो । 

विश्वविद्यालयका एक प्रवक्ताले अहिलेसम्म ब्राजिलका ६ सहरमा आठ हजारभन्दा धेरै स्वयंसेवकलाई छानिएकाे र उनीहरुलाई खोपको पहिलो खेप दिइएको छ । केही व्यक्तिलाई खोपको दोस्रो खेप पनि दिइएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया