मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

 कात्तिक ७, २०७७ शुक्रबार १३:५६:० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । शुक्रबार बसेको कर्णाली प्रदेश नेकपा संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । 

मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै दलका सांसदहरुले सरकार र दलको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको भन्दै यामलाल कँडेलको नेतृत्वमा संसदीय दलमा असोज २५ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । केन्द्रले विवाद मिलाउने भने पनि कुनै निष्कर्ष नआएपछि फेरि प्रदेशमै विवाद आएको थियो । बैठकमा १८ जना सांसदहरु सहभागी थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना सांसदहरु पछि हटेपछि मुख्यमन्त्रीको पद जोगिएको हो । 

बैठकमा भने असन्तुष्ट पक्षका सांसदहरु सहभाीग भएनन् । उनीहरुले मुख्यमन्त्री पक्षले एकलौटी रुपमा पेलेको र अविश्वासको प्रस्ताव आइसकेपछि मुख्यमन्त्रीले अवैधानिक काम गरेको आरोप लगाएका छन् । प्रमुख सचेतक सीता नेपालीले बहुमतले अविश्वासको प्रस्ताव अस्वीकृत भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अविश्वासको प्रस्तावको पक्षमा शून्य र विपक्षमा १८ मत आएको छ । यो अझ बढ्न सक्ने सम्भावना छ ।’

प्रदेशमा  नेकपाका ३३ जना सांसद छन् । सभामुख बाहेक संसदीय दलका ३२ जना सांसद छन् । दुई जना मन्त्रीसहित १४ जना सांसदहरु अनुपस्थित भएका हुन् । प्रमुख सचेतक नेपालीले मन्त्रिपरिषद् पुनर्गठन हुने सङ्केत दिनुभएको  छ । उहाँले ढिलो चाँडो पुनर्गठन हुने जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत २३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया