अमेरिका चुनाव : अन्तिम बहसमा 'म्युट बटन' काे प्रयाेग, ट्रम्प र बाइडेन दुवै संयम

 कात्तिक ७, २०७७ शुक्रबार १९:४३:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच राष्ट्रपति पदको चुनावका लागि बिहीबार भएको अन्तिम आधिकारिक बहस (प्रेसिडेन्टल डिबेट) का क्रममा 'म्युट बटन' को प्रयोग गरिएको भएको थियो । दुवै नेताले पहिलो बहसको विपरीत यस पटक संयम र शिष्टताको प्रदर्शन गरे । 

दुवै नेताबीचको अन्तिम बहसका क्रममा माइक्रोफोन म्युट गर्नको लागि 'म्युट बटन' को प्रयोग गरिएको थियो । पहिलो बहसमा डोनाल्ड ट्रम्प र जो बाइडेन एकअर्कालाई आफ्नो कुरा राख्दा संयम नभएको हुँदा यस पटक 'म्युट बटन' को प्रयोग गरिएको हो । जसका कारण बहसको क्रममा असहज स्थिति देखिएको थियो ।  

ओहियोको क्लिभल्याण्डमा भएको पहिलो बहसको क्रममा बनेको असहज स्थितिको कारण आयोजकहरुले 'म्युट बटन' को प्रयोग गर्नुपरेको थियो । नाश्भिलको बेलमन्ट विश्वविद्यालयमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच बिहीबार राति ९० मिनेटसम्म चलेको दोस्रो र अन्तिम बहसमा क्रममा दुवै नेताले संयमताको परिचय दिए । 

यसअघि दुवै नेताबीच गएको महिना भएको पहिलो बहस आरोप प्रत्यारोपले भरिएको थियो । यस बहसमा विश्वमा महामारीको रुप लिएको कोभिड–१९, जातीय भेदभाव, अर्थव्यवस्था र जलवायु परिवर्तन जस्ता मुद्दा उठाइएका थिए । 

‘कमिसन अन प्रेसिडेनिसयल डिबेट’ (सीपीडी) ले गएको सोमबार नयाँ नियमहरुको घोषणा गर्दै बहसमा 'म्युट बटन' को प्रयोग हुने बताएको थियो । नियमअनुसार वक्ताहरुको माइक्रोफोन दुई मिनेटको लागि 'म्युट' गर्ने व्यवस्था गरिएको थियो, जसअनुसार उनीहरुले निर्बाध रुपमा आफ्नो सुरुवाती टिप्पणी राख्न सक्थे ।

नयाँ नियमअनुसार ट्रम्प र बाइडेनसँग बहसको प्रत्येक १५ मिनेटको खण्डको सुरुवातमा बोल्नको लागि दुई मिनेटको समय थियो । यस अवधिमा उनीहरुलाई एकअर्कालाई अवरोध गर्न सक्दैनथे । दुवै नेताले यस नियममा सहमति जनाएका थिए । 

बहसमा बाइडेनले ट्रम्प प्रशासन र त्यसको कार्यशैलीप्रति चर्को आलोचना र टिप्पणी गर्नुभएको थियो । उहाँले विशेष गरेर कोरोना महामारी व्यवस्थापन गर्न तथा नागरिक र अर्थतन्त्र जोगाउन नसकेको आरोप ट्रम्पमाथि लगाउनुभएको थियो ।

जवाफमा राष्ट्रपति ट्रम्पले बाइडेनको आरोपको खण्डन गर्दै आफ्नो कार्यकाल अत्यन्त सफल भएको दाबी गर्नुभएको थियो । उहाँले कोरोना भाइरसका विरुद्धमा लगाइने खोप केही हप्तामा आउने र महामारी पूर्णरुपमा नियन्त्रण हुने दाबी गर्नुभएको थियो । 

तर चाँडै नै खोप आएर महामारी नियन्त्रण हुने ट्रम्पको दाबीलाई भने बाइडेनले अविश्वास गर्दै उहाँले भनेजस्तो जादु नहुने टिप्पणी गर्नुभएको थियो । 

बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरु कोरोना भाइरस सँगसगै बाँच्न सक्ने भइसकेको बताउनुभएको थियो । 

ट्रम्पको भनाइले महामारीविरुद्ध लड्न वा महामारीको सामना गर्न वा व्यवस्थापन गर्न ट्रम्प प्रशासनसँग कुनै योजना नरहेको पुष्टि भएको पनि बाइडेनको तर्क थियो । 

‘उहाँको कुरा सुन्ने हो र मान्ने हो भने उहाँले कोरोना भाइरसको महामारी व्यवस्थापनका लागि जादु गर्नेबाहेक अरु केही देखिएन’, बाइडेनले भन्नुभयो । 

टेनेसी राज्यको नेस्भिलमा भएको बहस कोरोनाविरूद्धको लडाइँ, अमेरिकी परिवार, जातियता, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वलगायतका विषयमा केन्द्रित भएको थियो । 

बहसको सुरुमा यसअघिको पहिलो राष्ट्रपतीय बहसपछि पनि अमेरिकामा थप १६ हजार अमेरिकीहरुले कोरोनाका कारण जीवन गुमाएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । त्यसपछि नै ट्रम्पको प्रस्तुति खल्लो, हल्का र अपत्यारिलो भएको टिप्पणी गरिएको छ । 

अर्का प्रतिस्पधी बाइडेनलाई भने कोरोना भाइरस उत्पत्ति गराएको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनेर सोधिएको थियो ।

जवाफमा बाइडेनले व्यापार र अर्थतन्त्रलाई जोडेर व्याख्या गर्दै चीनले अन्तर्राष्ट्रिय नियमअनुसार चलोस् भन्ने आफ्नो चाहना हुने बताउनुभएको थियो । 

पहिलो राष्ट्रपतीय बहसभन्दा यस पटकको बहस बढी व्यवस्थित र अमेरिकी मूल मुद्दाहरुमा केन्द्रित भएको थियो । अमेरिकामा राष्ट्रपतिका दुई आकाङ्क्षीलाई सँगै उभ्याएर प्रश्न सोध्ने प्रचलन छ र यो निकै लोकप्रिय हुने गरेको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया