चिनियाँ इन्जिनियरहरुले ७ हजार ६०० टनको भवन उठाएर ६२ मिटर पर सारे

 कात्तिक ९, २०७७ आइतबार ९:१९:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको शङ्घाई सहरका इन्जिनियरहरुले सात हजार ६ सय टनको एक विशाल भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सारेका छन् ।

इन्जिनियरहरुले सन् १९३५ मा बनेको शङ्घाईको लागेना प्राथमिक विद्यालयको पाँच तले भवनलाई प्रविधिको प्रयोग गरेर अन्यत्रै सारेका हुन् । 

स्थानीय प्रशासनका अनुसार यो भवन रहेको नजिकै एक नयाँ विषयमा काम सुरु गर्नुपर्ने भएकोले विद्यालयको भवन अन्यत्रै सार्ने निर्णय लिइएको हो ।

 

चीनका इन्जिनियरहरुसँग यो भवन ढाल्ने विकल्प पनि थियो तर उनीहरुले यस ऐतिहासिक भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सार्ने निर्णय लिएका हुन् । 

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार इन्जिनियरहरुको एक टिमले प्राविधिक सहयोगबाट भवनलाई उठाएको र एक सय ९८ खुट्टे रोबोटको सहयोगमा केही पर सारेका हुन् । 

स्थानीय मिडियाका अनुसार कङ्क्रिटबाट बनेको हजारौँ टनको यो भवनलाई यसको मूल ठाउँबाट झण्डै ६२ मिटर पर सारिएको हो । 

चीन सरकारद्वारा नियन्त्रित सीसीटीभी न्युज नेटवर्कका अनुसार यस भवनलाई एक ठाउँबाट अर्काे ठाउँमा सार्नका लागि १८ दिन लाग्यो । गएको अक्टोबर १५ मा यस भवन सार्ने काम सकिएको बताइएको छ ।  

न्युज एजेन्सीका अनुसार स्थानीय प्रशासनले अब यस ऐतिहासिक भवनलाई संरक्षित गर्ने निर्णय लिएको छ र मर्मत सम्भार पनि गर्ने बताएको छ । 

भवनलाई एक ठाउँबाट अर्काे ठाउँमा सार्ने धेरै प्रविधि छन् तर सामान्यतया इन्जिनियरहरु यस्तो भवनलाई ठूलो प्लेटफर्म (मञ्च) को सहयोगमा निकै क्षमता भएको रेल वा क्रेनबाट खिच्ने गरिन्छ । 

तर यस पटक चिनियाँ इन्जिरिनयरहरुले रोबोटिक लेग्सको प्रयोग गरे । चिनियाँ इन्जिरियरहरुले पहिलो पटक यस तरिका अपनाएका हुन् ।  

शङ्घाईका इन्जिनियरहरुसँग भवनलाई अन्यत्रै सार्ने प्रशस्त अनुभव छ । 

सन् २०१७ मा एक सय ३५ वर्षअघि बनेको र झण्डै दुई हजार टन तौल भएको एक ऐतिहासिक बौद्ध मन्दिरलाई त्यसको मूल ठाउँबाट झण्डै ३० मिटर पर सारेका थिए, जसका लागि १५ दिन लागेको थियो । 

यस वर्षको सुरुवातमा चिनियाँ इन्जिनियरहरुले भवन निर्माणको क्षेत्रमा एक कीर्तिमान बनाएका थिए । चीनको हुबेई प्रान्तको वुहान सहरमा कोरोना सङ्क्रमण फैलिएपछि चिनियाँ इन्जिनियरहरुले दश दिनमै एक हजार शय्याको अस्पताल बनाएर देखाएका थिए । वुहान त्यही शहर हो, जहाँ सबैभन्दा पहिला कोभिड–१९ सङ्क्रमणको आधिकारिक पुष्टि भएको थियो ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया