चितवनमा सङ्कलित प्लाज्मा भैरहवा र काठमाण्डाैमा

 कात्तिक १२, २०७७ बुधबार १७:१६:० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चितवन – क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भइ निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालेको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट प्लाज्मा पठाउन थालिएको हो । 

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड–१९ सङ्क्रमण भइ निको भएकाबाट यहाँ सङ्कलन भएका ७१ युनिट प्लाज्मामध्ये ११ युनिट बाहिरी जिल्ला पठाइएको छ । पौडेलका अनुसार भैरहवामा ६ युनिट र काठमाण्डाैमा पाँच युनिट पठाइएको हो । अन्य जिल्लाबाट पनि माग हुन थालेको उहाँले जानकारी दिनुभयो । 

अहिले केन्द्रमा ए पोजेटिभ आठ, ओ पोजेटिभ १९, बी पोजेटिभ १२, एबी पोजेटिभ दुई युनिट जगेडा रहेको छ । चार युनिट दातामा अन्य समस्या भएपछि प्रयोग गर्न नमिल्ने भएको हो । चितवनका विभिन्न अस्पतालमा १५ युनिट बिरामीलाई चढाइएको केन्द्रले जनाएको छ ।

नवलपरासी जिल्लाबाट ३३ युनिट, चितवनमा शिविरमार्फत् ३२ युनिट र संस्थामा आएर ६ जनाले प्लाज्मा दान गरेका हुन् । देशभरमा नै सबैभन्दा बढी चितवनमा प्लाज्मा सङ्कलन भएको पौडेलले दाबी गर्नुभयो । सामाजिक सङ्घ संस्थाले अभियान नै सञ्चालन गरेर प्लाज्मा सङ्कलन गरेपछि यहाँ र बाहिरसमेत पठाउन सकिएको उहाँको भनाइ छ ।  

सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । चितवनकाे भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदै आएको छ । 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीका अनुसार निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसबाट गम्भीर अवस्थाका सङ्क्रमितको उपचार गर्न सहयोग पुग्छ । रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया