गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण असार मसान्तभित्र : अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने

 कात्तिक १३, २०७७ बिहिबार ७:४९:५८ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने भएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदाे असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने निर्णय गरेका हुन् ।

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरणको काम सक्नेगरी आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने भएको छ । त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन भने अर्थ मन्त्रालयले गर्ने भएको छ ।

गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सम्पन्न गर्ने कार्ययोजनासहितको तालिका एक हप्ताभित्र तयार गर्ने भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । गरिब तथा विपन्न वर्गको तथ्याङ्क नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

उहाँले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुर्याउने समेत बताउनुभएको छ । उहाँले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमको प्रभावकारिता बढ्ने समेत बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया