समय सकिएपछि काम थालियो

 कात्तिक १४, २०७७ शुक्रबार १६:०:३४ | रासस
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गा–रामपुर–लप्सेखोला सडक निर्माणको थपिएको समय पनि सकिएपछि डीबीएसटी कालोपत्रे गर्न सुरु गरिएको छ । सडक कालोपत्रे गर्ने अन्तिम समयसीमा गएकाे असोज २९ गते नै सकिएपछि ठेकेदारले बल्ल कालोपत्रेको काम थालेका हुन् । अहिले ओखलढुङ्गा सदरमुकामको नयाँबजार आसपासबाट सडकमा कालोपत्रेको प्राइमकोट बिछ्याउने काम सुरु गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत निर्माण भइरहेको याे सडकको १६ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । २३ दशमलव ६२ किलोमिटर लामो सडकमा ७ दशमलव ६२ किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने प्राविधिक अनुमान रहेको छ । विसं २०७५ असार २७ मा भ्याटसहित २९ करोड ९९ लाख ६० हजार लागतमा सम्पन्न गर्ने गरी गौरी पार्वती निर्माण सेवा प्रालिले कालोपत्रे गर्ने कामको जिम्मा लिए पनि समयमै काम सकेको थिएन । ठेक्का लागेको १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि काम नसिकएपछि विभिन्न चरणमा समयसीमा थपिएको थियो ।

पछिल्लो समयमा भने लकडाउन र वर्षाका कारण काम प्रभावित भएको थियो । अहिले याे सडकमा कालोपत्रे गर्ने काम अगाडि बढाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इन्जिनियर सरोज केसीले बताउनुुभयो ।

दशैँअघि नै याे सडकको चार किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने तयारी गरिएको भए पनि दशैँको समयमा लक्ष्य अनुसारका काम गर्न नसकिएको उहाँको भनाइ छ । दशैँमा पनि लगातार काम गरेर तयारी गरिएको क्षेत्रमा ग्राभेल बिछ्याउने र बेस कोर्स तयारी गर्ने काम भएको उहाँले बताउनुुभयो ।

सडक निर्माणको समयसीमा सकिएकाले थप गर्नका लागि पहल भइरहेको छ । आउँदो मङ्सिरसम्म सडक निर्माणको काम नसकिए पुस–माघमा चिसो बढ्ने र कालोपत्रे नबस्ने समस्याले चैतसम्मै पर्खनुपर्ने प्राविधिकहरुको भनाइ छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया