नेपाली सेनाले भन्याे, ‘भारतीय सेनाध्यक्षको भ्रमण परम्पराकाे निरन्तरता नै हाे’

 कात्तिक १६, २०७७ आइतबार १६:४४:४९ | रासस
unn.prixa.net

काठमाण्डाै – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने आउँदाे बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपालको तीन दिवसीय भ्रमणमा आउन लाग्नुभएको हो ।

भारतीय  स्थल सेनाध्यक्ष नरभानेकाे भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ । भारतीय सेनाध्यक्षको भ्रमणका सन्दर्भमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भन्नुभयो, 'भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै हो । यसको दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने मुख्य उद्देश्य रहेको छ ।'

नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम नभए पनि दोस्रो दिन उहाँले सैनिक मञ्च टुँडिखेलमा रहेकाे वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । 

त्यही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी भारतीय स्थल सेनाध्यक्ष जनरल नरभानेसँग  औपचारिक भेटवार्ता गर्नुहुनेछ । सेनाका पिएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम तय भएको छ । त्यही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्राैँ दुई बैठकको सहमतिअनुरुप एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको दोस्रो दिन जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेनाध्यक्ष नरभाने १८ औँ सेनापति हुनुहुन्छ । जङ्गी अड्डाबाट प्राप्त अभिलेखअनुसार सन् १९५० मा भारतीय सेनाअध्यक्ष केएम परिअप्पालाई पहिलो पटक मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

नेपालका तर्फबाट प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले विसं २०२६ मा भारतीय सेनाको मानार्थ महारथी प्राप्त गर्नुभएको अभिलेखमा उल्लेख छ । भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४ औँ सेनापति हुनुहुन्छ ।

भ्रमणका अवसरमा राष्ट्रपतिसँग नरभानेकाे भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । त्यही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्री भोज आयोजना हुनेछ । भ्रमणको तेस्रो दिन उहाँ शिवपुरीकाे आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तर्क्रियामा सहभागी हुनुहुनेछ । 

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरभानेले त्यही दिन औपचारिक भेटवार्ता गर्नुहुनेछ । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरभानेकाे नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया