२१ दिनपछि खुल्यो सुर्नया गाउँपालिकामा लगाइएको ताला

 कात्तिक १६, २०७७ आइतबार १८:१७:५९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – सुर्नया गाउँपालिकामा गएको असोज २६ गतेदेखि गरिएको तालाबन्दी खुलेको छ । जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार भएको छलफलपछि ताला खुलेको गाउँपालिकाकी उपाध्यक्ष लीला विष्टले जानकारी दिनुभयो ।

गाउँपालिकामा लामो समयपछि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सुरु हुने उपाध्यक्ष विष्टले बताउनुभएको छ । 

जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष लीला विष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र सङ्घर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो । तत्कालका लागि पहिलेकै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका विषयमा सर्वदलीय छलफलबाट टुङ्गो लगाउने सहमतिसहित ताला खुलेको उपाध्यक्ष विष्टले जानकारी दिनुभयो ।

सुर्नया गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा गएको असोज २८ गते झडपसमेत भएको थियो । त्यस झडपमा गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टसहित १४ जना घाइते भएका थिए । गाउँपालिकाले पवितामा केन्द्र सार्न लागेको भन्दै स्थानीयहरुले सङ्घर्ष समिति बनाएर गाउँपालिकामा तालाबन्दी गरेका थिए । असोज २८ गते ताला खोल्ने क्रममा अध्यक्ष विष्ट सहितका व्यक्तिमाथि ढुङ्गा प्रहार भएको थियो ।

स्थानीयहरुले केन्द्रका विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले केही निर्णय नगर्न माग गरेका छन् ।    

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया