प्रधानाध्यापक मृत भेटिएपछि हत्या गरिएको आशङ्कामा राजमार्ग बन्द

 कात्तिक १८, २०७७ मंगलबार १७:४५:५६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिका २ मा रहेको डाडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक ४५ वर्षीय गोविन्द घरडी मङ्गलबार मृत भेटिनुभएको छ । प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका ९ को शिवपुरी धाम नजिक मृत भेटिनुभएको हो । 

मृतक घरडीको शरीरमा निलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक (इन्सपेक्टर) खगेन्द्रसिह साउँदले जानकारी दिनुभयो । यसका साथै उहाँको साथमा ८५ हजार रुपैयाँसमेत भेटिएको साउँदले बताउनुभयो ।

प्रधानाध्यापक घरडी सोमबार तलब बुझ्न भनी गोकुलेश्वर आएको पनि बुझिएको प्रहरीले जनाएको छ । घरडीसँगै रहेका अन्य चार जना शिक्षक पनि तलब बुझ्न आएको भए पनि उनीहरु सोमबार नै घर फर्किएको बताइएको छ । घरडी घर नफर्केपछि खोजी गर्दा मङ्गलबार बिहान ७ बजे उहाँ मृत अवस्थामा भेटिनुभएको हो ।  

मृतकको शरीरमा निलडाम र घाउ रहेकोले कसैले हत्या गरेको हुन सक्ने आशङ्का आफन्तको छ । प्रहरीको टोली घटनास्थलमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 

यसैबीच घटनाको सत्य तथ्य छानबिनको माग गर्दै मृतकका आफन्तले महाकाली राजमार्ग बन्द गरेका छन् । उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग बन्द गरेका हुन् । अहिले घटनाको विषयमा आफन्त र प्रहरी प्रशासनबीच छलफल भइरहेको जनाइएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया