काभ्रेकाे तीनधारामा तामाङ नमुना बस्ती बन्दै : होमस्टेमा ३० जना पर्यटकलाई राख्न सकिने

 कात्तिक २२, २०७७ शनिबार ११:४१:४० | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० चण्डेनी तीनधारामा नमुना तामाङ बस्तीको काम अगाडि बढेको छ ।

बस्तीमा गारो निर्माण सकिएका केही घरमा छानो हाल्ने काम सुरु गरिएको छ । ६ घरको एक ब्लक बनाइ पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो । आउँदो पुस महिनाभित्र नमुना बस्तीका ३० घर निर्माण सम्पन्न गरेपछि सामुदायिक भवन र बगैँचा निर्माण गर्ने योजना छ । 

स्थानीय तामाङ संस्कृतिमार्फत् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण थालिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोग तथा ह्याविट्याट फर ह्युम्यानिटीको प्राविधिक सहयोगमा एकीकृत बस्ती निर्माणको काम अघि बढाएको नमुना बस्तीका अगुवा रामबहादुर तामाङले बताउनुभयो । 

उहाँका अनुसार अहिले आठ घरको गारो लगाउने काम सकिएको छ । एक घर निर्माण सम्पन्न गर्नका लागि ११ लाख रुपैयाँ खर्च लाग्नेछ । बस्ती निर्माणको लागि प्राधिकरणले पहिलो चरणमा एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरपालिकाले १० लाख रुपैयाँ थप सहयोग उपलब्ध गराएको तामाङले जानकारी दिनुभयो । 

घर निर्माणको लागि आवश्यक ब्लक आफैँ निर्माण गरिरहेको पनि उहाँले बताउनुभयो । नमुना बस्तीमा ब्लकको चारकोठे एक तले पक्की घर निर्माण हुनेछ । घरको छानो जस्ताको हुनेछ । नमुना बस्ती तीनधारामा ३० वटा पक्की घर निर्माण हुनेछ । बस्तीमा स्थानीय तामाङ समुदायका विपन्न भूकम्प पीडित परिवार राखिने तामाङले बताउनुभयो । बस्ती निर्माण कार्ययोजना अनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्नेछ । 

नमुना बस्तीमा एक सामुदायिक भवन निर्माण गर्ने योजना छ । सामुदायिक भवन निर्माणका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा अर्थात् तामाङ समुदायको काजकिरिया, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रो लगायतका सामग्री संग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने तामाङले बताउनुभयो । 

योजनाअनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । होमस्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपीकल’ खाना खुवाइनेछ । होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण सुरु भएकोपछि उत्साह जागेको नगरप्रमुख टोकबहादुर वाइवाले बताउनुभयो । 

यो बस्तीलाई जिल्लाकै उत्कृष्ट नमुना बस्तीका रुपमा विकास गर्दै जाने उहाँको भनाइ छ । नमुना बस्तीमा ३० जना पर्यटकलाई होमस्टेमा राख्न सकिनेछ । अपुग बजेटका लागि दाताको खोजी गरीरहेको रामबहादुर तामाङले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया