पटाका लगायत अवैध सामान नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रहरीको गस्ती

 कात्तिक २२, २०७७ शनिबार २०:३६:१३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – प्रहरीले भारतसँग सीमा जोडिएको क्षेत्रमा पछिल्लो समयमा गस्ती बढाएको छ । सीमा नाका झुलाघाट बन्द रहेको अवस्थामा पनि भारतबाट अवैध रुपमा सामान भित्र्याउने क्रम नरोकिएपछि सीमा क्षेत्रमा गस्ती बढाएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सीमानाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत भारतीय सामान अवैध रुपमा आउन थालेपछि  सीमाक्षेत्रमा गस्ती टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

महाकाली नदी क्षेत्रको शेरा, पञ्चेश्वर, शिवनाथ लगायतका क्षेत्रमा प्रहरीको गस्ती टोली परिचालन गरिएको हो ।  तिहार नजिकिएसँगै अवैध रुपमा पटाका लगायतका प्रज्वलनशिल पदार्थ पनि भित्रन सक्ने भन्दै सीमाक्षेत्रमा कडाई गरिएको उहाँले बताउनुभयो ।  

बैतडीमा बन्दाबन्दीको अवस्थादेखि अहिलेसम्म भारतबाट अवैध रुपमा भित्र्याइएको १३ लाख रुपैयाँ बढीको सामान बरामद गरिएको छ । बरामद गरिएको सामान, गाडी र तस्करहरुलाई आवश्यक कारबाहीको लागि झुलाघाट र गड्डाचौकी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया