'कन्ट्याक्ट ट्रेसिङ' व्यापक बनाइँदै, प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गरिने

 कात्तिक २२, २०७७ शनिबार २०:५४:३३ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारले कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले उपत्यकाका प्रत्येक वडामा  कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर  ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिनुभयो । अहिले काठमाण्डाै  उपत्यकामा १५ वटा  कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन । देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ​ गरिरहेका थिए । ४ सय ६० गाउँपालिकामा ४ सय ६०, २ सय ७६ नगरपालिकामा ५ सय ५२, ११ उपमहारपालिकामा ३३  र  ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् ।

उहाँका अनुसार सरकारले पहिले काठमाण्डाै उपत्यकामा  ट्रेसिङलाई केन्द्रित गर्ने र त्यसपछि उपत्यका बाहिर गर्ने छ । त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्तिलाई तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सवैको ट्रेसिङ गर्ने छ ।

निगरानी समूह

मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर सहयोग समूह गठन गर्ने उहाँले बताउनुभयो । ती समूहका ५ देखि ७ जना  रहने छन् । 

कोभिड–१९ फोसल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन । “अहिले सङ्क्रमित, ट्रेसिङमा परेका व्यक्ति बाहिर हिँडडुल गर्ने गरेको पाइएको छ” उहाँले भन्नुभयो, “ अब उक्त समूहले नै ती व्यक्तिको निगरानी गर्ने छन । सङ्क्रमित,  ट्रेसिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ ।”

समूहले कोभिड–१९ सँग सम्बन्धि व्यक्तिलाई अस्पताल पुर्याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन । 

मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाण्डौ जिल्लाका छ नगरपालिका दक्षिणकाली, चन्द्रागिरी, टोखा, बुढानीलकण्ठ, गोर्कणेश्वर, किर्तिपुरका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरिरहेको छ ।

कोभिड–१९ फोकल पर्सन श्रेष्ठले ती छ वटा नगरपालिकाले चाडै नै  ट्रेसिङ​ समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले ट्रेसिङ गरेर पीसीआर परीक्षणलाई बढाइने बताउनुभयो ।

“पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन” उहाँले भन्नुभयो, “तर अब फेरि हामीले ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारीमा रहेका छौं ।”

उहाँले कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये पीसीआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पीसीआर परीक्षण निःशुल्क गरिने बताउनुभयो । महाशाखाले कोभिड १९ सङ्क्रमितसँग नजिक रहेको कममा तीन जनाको  कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ  ।

कोभिड १९ को सङ्क्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नका लागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीन जनादेखि एक सय १० जनासम्ममा  ट्रेसिङ गरिएको छ ।  सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर तथा फोनबाट नजिक रहेका व्यक्तिलाई  ट्रेसिङ गर्ने गरिन्छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Sangit

    Nov. 8, 2020, 6:34 a.m.

    यो सब भन्ने कुरा मात्र हो / मेरो एकजना साथी कार्तिक १० गतेदेखि बिरामी पर्नुभयो , १६ गते पीसीआर टेस्ट गर्दा पोजिटिभ आयो / तर उहाँको परिवारमा कसैको कन्ट्याक्ट ट्रेसिंग भएन /उहाँ एकजना मात्र होम आइसोलेसनमा हुनुहुन्छ / अरु सबै यथावत काम गरिराखेका छन् / आफै पैसा तिरेर कन्ट्याक्ट ट्रेसिंग गराउनुपर्ने भनेर कसैले पनि गराएनन /यसो गर्दा समाजमा रोग झन फैलिँदोछ, भन्ने होइन, गरेर देखाउनुस /

  •  0 Reply

तपाईको प्रतिक्रिया