साँफेबगर-मार्तडी सडकखण्ड ५ महिनासम्म पनि खुलेन : अरु एक सय १२ वटा सडकखण्ड आंशिक सञ्चालन

 कात्तिक २३, २०७७ आइतबार ८:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बर्खाको समयमा बन्द भएको साँफेबगर-मार्तडी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अरु एक सय १२ वटा सडकखण्ड भने आंशिक रुपमा मात्रै सञ्चालनमा आएका छन् ।

साँफेबगर- मार्तडी सडकखण्डको बलेना-जड्ङामा बुढीगंगा नदीले ५० मिटर लामो बेलिब्रिज बगाएकाले यो सडकखण्ड सञ्चालनमा आउन नसकेको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार यो सडकखण्ड सञ्चालनमा आउन अझै २ देखि ३ महिना लाग्न सक्छ ।

बेलिब्रिज नै फेरि बनाउनुपर्ने भएकाले समय लाग्ने उहाँको भनाइ छ । अहिले बेलिब्रिज निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ । अब निरन्तर काम भएमा २ देखि ३ महिनामा फेरि गाडी गुड्ने उहाँले बताउनुभयो । यसवर्ष भदौसम्म नै निरन्तर पानी पर्ने र पहिरो जाने समस्या भएका कारण  बन्द भएका सडकखण्डमा पुगेर अनुगमन गर्न समस्या भएको उहाँको भनाइ छ ।

बेलिब्रिज बनाउन सामान लैजाने बाटोसमेत नभएकाले र मर्मत गर्दै पुग्नुपर्ने अवस्था भएकाले समयमै ठेक्का आह्वान गरेर काम थाल्न नसकिएको उहाँको भनाइ छ । साँफेबगर मार्तडी सडकखण्ड असार २६ गतेदेखि बन्द छ । यो सडकखण्डको अरु विकल्प नभएकाले मानिसहरुले झोलुङ्गे पुल तरेर, अर्को ठाउँमा गएर गाडी चढ्नुपर्ने बाध्यता छ ।

आंशिक रुपमा सञ्चालनमा आएका एक सय १२ वटा सडकखण्ड भने भौगोलिक हिसाबले सधैँजसो पहिरो खसिरहने ठाउँका भएकाले बनाएपछि केही दिन गाडी चल्ने र फेरि बन्द हुने क्रम चलिरहने सडक विभागका महानिर्देशक शर्माको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया