उपल्लो डोल्पाका केही विद्यालयमा वार्षिक परीक्षा सकेर नतिजा समेत सार्वजनिक

 कात्तिक २३, २०७७ आइतबार १३:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

डाेल्पा – उपल्लो डोल्पाको तीनमध्ये दुई वटा पालिकाका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सकिएको छ ।

डोल्पोबुद्धका वडा नम्बर २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत बाल विकास केन्द्र र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् । वडा नम्बर ३ को क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ । एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयको योजना छ ।

गाउँपालिकाका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ । अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका तीन वटा पालिकाका सबै विद्यालयमा फागुनमा शैक्षिक सत्र शुरु भएर कात्तिकमा सकिने गरेको छ ।

स्थानीय पेमा गुरुङले नतिजा सार्वजनिक गरेका विद्यालय बन्द भइसकेको बताउनुभयो । यो वर्ष सरकारी निकायले परीक्षा सञ्चालनमा सहयोग नगरेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकको सक्रियतामा परीक्षा सञ्चालन गरिएको हो । यही समयमा वार्षिक परीक्षा सक्नुपर्ने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका चार विद्यालयले पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छन् ।

तीन विद्यालयले कोरोनाका कारण तीन महिना विद्यालयमा पठनपाठन बन्द गरेर अहिले परीक्षा गरी विद्यालय बन्द गरेका हुन् । शे फोक्सुण्डो गाउँपालिकाका विद्यालय पनि वार्षिक परीक्षाको तयारीमा छन् । विद्यार्थीहरु परीक्षाको तयारीमा जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । जसरी भए पनि १२ वटै विद्यालयले हिमपातअघि नै नतिजा प्रकाशन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया