उद्धार उडान बन्द गर्न, केबलकार खुला गर्न सीसीएमसीकाे सिफारिस

 कात्तिक २३, २०७७ आइतबार १५:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । 

अहिलेसम्म एक लाख ३६ हजार दुई सय १६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरूले लगभग उद्धारकाे काम सकिएको जानकारी गराएपछि उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

कुनै देशबाट फेरि उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । यसैगरी सीमा नाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी केबलकार, जङ्गल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको उहाँले बताउनुभयो ।

होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि पालिकाका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया