मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ : मन्त्री गुरुङ

 कात्तिक २५, २०७७ मंगलबार १३:६:३७ | रासस
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

उहाँले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, 'तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानुन पनि सुधार गर्छौँ, ती कानुनमा मर्यादित पत्रकारिता थपिनेछ ।' भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उहाँको भनाइ थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगतले भ्रम र अफवाह फैलाउनेतर्फ नभएर विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले यस तालिमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'हामीप्रतिको विश्वासलाई कायम राख्न कमजोरी सुधार गर्नुपर्छ, आचारसंहिता पालना गर्नु नै महत्वपूर्ण हो, यसका लागि हामीले अनुगमन गरिरहेका छौँ, राज्यको तर्फबाट पनि यसतर्फ पहल हुनुपर्छ ।'

प्रेस काउन्सिल नेपालका सदस्य सङ्गीता खड्काले आचारसंहिता पालना गरे पत्रकारिता क्षेत्र विश्वसनीय हुने बताउनुभयो । भ्रामक र गलत सूचना तथा समाचारलाई न्यूनीकरण गरी पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिनुभयो । 

तीन दिनसम्म सञ्चालन भएको दोस्रो चरणको तालिममा तीन जिल्लाका ३२ पत्रकारको सहभागिता रहेको मिडिया एक्सनका उपाध्यक्ष प्रियङ्का झाले बताउनुभयो । उहाँका अनुसार छ जिल्लाका ६४ पत्रकारलाई यस किसिमको तालिम प्रदान गरिएको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया