कर्णालीका किसानले दुई प्रतिशत ब्याजदरमा एक करोडसम्म ऋण पाउने

धिताे राख्न नसक्ने किसानका लागि सरकार नै जमानी बसिदिने

 कात्तिक २५, २०७७ मंगलबार १८:१६:३४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका किसानहरूले ​दुई प्रतिशत ब्याजदरमा एक करोडसम्म ऋण पाउने भएका छन् । प्रदेश सरकारले अब कृषि विकास बैँकमार्फत किसानलाई वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।

व्यावसायिक कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन, किसानहरूकाे रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रममार्फत किसानले अब दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका हुन् । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग मङ्गलबार ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । अहिले कृषि विकास बैंकले नौ प्रतिशतमा कृषि कर्जा प्रवाह गरेको छ । त्यसमा प्रदेश सरकारले सात प्रतिशत अनुदान दिने र किसान आफैले दुई प्रतिशत तिर्नुपर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो । यो ऋण किसानले पाँच वर्षसम्मका लागि पाउने छन् । उहाँले मन्त्रालयले ब्याज अनुदान कार्यक्रमका लागि चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताउनुभयो । 

कर्णाली प्रदेशमा रहेका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमार्फत किसानहरूले ऋण पाउने भनिएको थियो । तर अरु बैंकले सम्झौता नगरेपछि कृषि विकास बैंकसँग सम्झौता गरिएको केसीको भनाइ छ । उहाँले  बैंकमा धितो राख्न नसक्ने किसानहरूका लागि सरकार नै जमानी बसिदिएर ऋण उपलब्ध गराउन पनि सकिने बताउनुभयो । साना किसानहरूलाई समेट्ने गरी सहुलियत कर्जा प्रवाहका लागि कानुन बनाउँदै गरेको जानकारी दिदैँ सहकारीमार्फत प्रवाह गर्ने गरी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले बढीभन्दा बढी किसानलाई समेट्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाइने बताउनुभयो । उहाँले सम्झौताअनुसार बैंकले कर्जा प्रवाह गर्ने जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशमा रहेका १८ वटा शाखामार्फत सरकारले दिएको ब्याज अनुदानमा ऋण लिन सकिने बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया