जीर्ण बन्दै राप्ती लोकमार्ग : सुविधाभन्दा सास्ती धेरै

 कात्तिक २७, २०७७ बिहीबार १०:७:४४ | रासस
unn.prixa.net

सल्यान - राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान-रुकुम खण्ड जीर्ण बन्दै गएको छ । 

लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ। राप्ती लोकमार्गका विभिन्न ठाउँमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ । 

यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । अधिकांश ठाउँमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्र उप्किएको स्थानीयवासीको भनाइ छ । वटासिल उप्किएपछि सडक धुलाम्य बन्दै गएको छ ।​ दाङ­सल्यान­-रुकुम खण्ड जीर्ण बन्दा स्थानीयवासीलाई सास्ती भएको स्थानीय लालबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार दाङ-सल्यान खण्डको राम्रीबाट शीतलपाटी र शीतलपाटीबाट खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् ।

‘सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकाय मौन छ’ उहाँले भन्नुभयो, ‘सडक पूर्णरुपमा कालोपत्र भए तुलसीपुरबाट सल्यान खलङ्गा आउन बढीमा डेढ घण्टा लाग्छ, तर जीर्ण सडकका कारण गाडीले चार घण्टाभन्दा बढी समय लगाउने गरेका छन् ।’

गाडी चालकसमेत रहनुभएका खत्रीका अनुसार सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्ने पछार्ने गर्दछ, यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, यात्रा गर्न जोखिम पनि उत्तिकै छ । वर्षातमा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती पाउँदा पनि सम्बन्धित निकाय मौन रहेको उहाँको गुनासो छ ।

यातायात व्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताउनुभयो । ‘जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यत्तिकै मात्रामा रहन्छ’ उहाँले भन्नुभयो । 

सडक मर्मतको नाममा करोडौँ रकम विनियोजन गरिए पनि सडकको अवस्था बिग्रँदै गएको उहाँको भनाइ छ । सम्बन्धित निकाय मौन बस्दा समस्या भएको उहाँको दुखेसो छ । अस्तव्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । सडक निर्माण भएको लामो समयससम्म पनि सडक चौडा नभएका कारण सडक जीर्ण बनेसँगै दुर्घटना बढेको हो ।

सडक साँघुरो हुनु, खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्दीप विकले जानकारी दिनुभयो । विगतका केही ठूला दुर्घटनालाई हेर्ने हो भने राप्ती लोकमार्गमा दुर्घटना धेरै हुने गरेको देखाउँछ । विसं २०६३ मा सल्यानको भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मृत्यु भएको थियो । यस्तै विसं २०७५ मा राम्रीमा स्कूलबस दुर्घटना हुँदा २२ भन्दा बढीको मृत्यु भएको थियो ।

राप्ती लोकमार्गअन्तर्गत अमेलियाबाट रुकुमको सल्लेसम्म १६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ । यसमा दाङ क्षेत्रमा सडकको अवस्था सन्तोषजनक नै भए पनि सल्यान खण्ड र रुकुम खण्ड जीर्ण बनेको छ । सडक डिभिजन कार्यालय दाङले राप्ती लोकमार्गको सडक स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । कार्यालयका प्रमुख नीरज शाक्यले ठेक्का व्यवस्थापनको काम भइरहेको र दुई प्याकेजमा काम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले चोरखोलाबाट शीतलपाटीसम्म र शीतलपाटीबाट मुसीकोटसम्म गरेर दुई प्याकेजमा काम गरिने जानकारी दिनुभयो । ‘शीतलपाटी-मुसीकोट खण्डमा कामको थालनी भएको छ, चोरखोलाबाट शीतलपाटीसम्मका लागि ठेक्का व्यवस्थापनको काम भइरहेको छ, डबल कटिङसहित सडकको स्तरवृद्धि गरिनेछ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार चोरखोला-शीतलपाटीका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ भने शीतलपाटी-मुसीकोटको काम चार करोड ९५ लाख रुपैयाँमा सुरु गरिएको छ । चोरखोला-शीतलपाटी सडकको ठेक्का प्रक्रिया अगाडि बढाएको बताउँदै बहुवर्षीय आयोजनाअन्तर्गत काम गरिने उहाँले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जीर्ण बन्दै गएको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि पहल भइरहेको जानकारी दिनुभयो । उहाँले अबको केही समयमा नै ठेक्का प्रक्रिया सुरु गरेर कामको थालनी गरिने जानकारी दिनुभयो । यसका लागि बजेट सुनिश्चित भइसकेको उहाँको भनाइ छ ।

‘कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने मुख्य मार्गका रूपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि विगतदेखि नै पहल गर्दै आएको छु, आर्थिक वर्ष २०७५/७६ मा सल्यान-दाङको सिमानाबाट सल्यानतर्फको सडकको स्तरोन्नति गर्न दुई प्याकेजका लागि करिब ९६ करोड रुपैयाँ सुनिश्चित भएको थियो, तर एउटा बोलपत्र भएर पनि रद्द भयो, अर्को बोलपत्र नै हुन सकेन’, उहाँले भन्नुभयो ।

गएकाे वर्ष निर्माण भएको नयाँ नियमावलीमा बहुवर्षीय ठेक्कामा लैजानका लागि बजेट कम भएकाले समस्या भएको उहाँको भनाइ छ । मन्त्री ज्वालाले यस वर्ष बजेट सुनिश्चित भएकाले बहुवर्षीय ठेक्कामा लैजाने तयारी भएको र अबको केही महिनामा काम सञ्चालनका लागि सडक डिभिजन कार्यालयले बोलपत्र आह्वान गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया