चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेत - वीरेन्द्रनगर ११ का करवीर कामीले घर खर्च चलाउँनकै लागि भारतको कमाइकाे भर पर्नु पर्दथ्याे । खेतीले तीन चार महिना मात्रै खान पुग्थ्यो । गाउँमा रोजगारी थिएन । अरुको खेतबारीमा काम गरिदिएर एक/दुई माना अन्न पाइन्थ्यो । त्यसले आफ्नो त के छोराछोरीले समेत पेटभरि खान पाउँदैनथे ।
घरखर्च चलाउनका लागि उहाँले २० वर्षसम्म कमाइकाे लागि भारत आउने जाने गर्नुभयो । तर पनि उहाँको जीवनशैलीमा सुधार भएन । त्यसपछि उहाँ परिवारसहित बसाइ सरेर सुर्खेत आउनुभयो । तर यहाँ पनि सजिलै काम पाउने अवस्था थिएन ।
सुर्खेत आएपछि बाबुबाजेले गर्दै आएको आरन व्यवसाय अंगाल्नुभयो । उहाँले १० वर्षदेखि वीरेन्द्रनगरको पिपिराचोकमा आरनको व्यवसाय गर्दै आउनुभएको छ । ‘मेरो परिवारले आरनको व्यवसाय मेरो बाजेको पालादेखि नै गर्दै आउनु भएको थियो । मैले बुबा बाजेबाटै फलामको काम गर्न सिकेको थिएँ ’ उहाँले भन्नुभयो, ‘अहिले आएर त्यस बेलामा सिकेको सीपले मेरो जीवनशैली नै फेरिएको छ ।’ गाउँमा हुँदा छोराछोरीलाई समेत भोकै राख्नुपर्ने अवस्था आएपछि सुर्खेत बसाइ सरेर आएको उहाँ सुनाउनुहुन्छ ।
वीरेन्द्रनगर ११ कै नरे कंसेरा पनि भारत जान छोडेर छ, सात वर्षदेखि आरन व्यवसाय गरिरहनुभएको छ । कसेरा पहाडमा खान लाउन समस्या भएपछि र आफू पनि शारीरिक रुपमा अस्वस्थ भएपछि उहाँ जाजरकोटबाट सुर्खेत बसाइ सरेर आउनुभएको थियो । सुर्खेत आए पनि कमाइ राम्रो भएन । भारत नगइ नहुने बाध्यता थियो । उहाँले पनि १२ वर्षसम्म कमाइका लागि भारत आउने जाने गर्नुभयो । भारतको कमाइले मात्र परिवारको गर्जो टार्न समस्या भएपछि उहाँले सुर्खेतमै बाबुबाजेले गर्दै आएको आरनको व्यवसाय गर्ने सोच बनाउनुभयो ।
उहाँ वीरेन्द्रनगर १० मा रहेको नयाँ गाउँमा आरनको काम गर्नुहुन्छ । छ, सात वर्षदेखि आरन व्यवसाय गरेर राम्रो आम्दानी भइरहेको छ । ‘भारतमा गएर काम गर्नु भन्दा आफ्नै ठाउँमा केही काम गरेपछि सजिलो होला भनेर आरन व्यवसाय सुरु गरे’ उहाँले भन्नुभयो, ‘अहिले यही व्यवसायबाट घरखर्च चलाउन धेरै सहज भएको छ ।
कोरोनाको कहरले पनि काम गुमेन
यस पटक कोरोनाका कारण धेरैले रोजगारी गुमाए । कोरोनाका कारण सबैतिर काम बन्द भएपछि आर्थिक संकटमा धेरैको परिवार गुज्रियो । तर करवीर कामी र नरे कसेराको परिवारले भने आर्थिक संकट भोग्नु परेन । घरेलु औजारहरु बञ्चरो, आँसी, फरुवा, कुटो, कोदालालगायत किसानलाई चाहिने समाग्री बनाउन उहाँहरुलाई भ्याइनभ्याइ भयो । सबैतिर बन्द भएको समयमा कसरी घर खर्च चलाउने भनेर कुनै समस्या भएन ।
आफूले अंगालेको व्यवसायले यो संकटको समयमा बलियो आडभरोसा दियो । करवीर भन्नुहुन्छ, ‘लकडाउन हुँदा बजारमा राखेको पसल बन्द भयो । त्यसपछि घरमै काम सुरु गरेँ । खेतीकिसानी गर्नेहरु सामान बनाउन आइरहन्थे । आर्थिक संकट भएन ।’
नरे कंसेरालाई पनि कामको भ्याइनभ्याइ भयो । स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै काम गरेको उहाँले सुनाउनुभयो । सबैतिर बन्द हुँदा आफू कहाँ अझ धेरै ग्राहकहरु आउने गरेकोले कमाइ राम्रो भएको उहाँको भनाइ छ । उहाँले मासिक १० हजार रुपैयाँसम्म कमाउने गरेको बताउनुभयो । ‘देशभर लकडाउन भएपछि काम हुँदैन होला ? कसरी घर खर्च धान्ने चिन्ता भएको थियो’ उहाँले भन्नुभयो, ‘पछि कामको भ्याइनभ्याइ भयो । मैले राम्रो कमाइ गरेँ।’
परदेशको दुःखले केही गर्ने आँट आयो
भारतमा कमाइ गर्न सजिलो थिएन । काम गराएर कहिले ठेकेदारले पैसा नदिएर ठग्थे भने कहिले समयमै घर आउन पाइँदैन थियो । मिस्त्री लेबरको काम गर्नुपर्ने भएकाले अर्कोको ठाउँमा हेपिएर बस्नुपर्थ्यो । दुःख गरेर कमाएको पैसा घरमा आएर ऋण तिर्न ठिक्कै हुन्थ्यो ।
करवीर कामीले त्यसपछि आफ्नै ठाउँमा बाबुबाजेले गर्दै आएको सीप अंगाल्नुभयो । अहिले परिवारसँगै बसेर आरामको काम गरेर राम्रो आम्दानी गर्न पाउँदा उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँले यही पेशाबाट घर खर्च मात्र धान्नुभएको छैन, छोराछोरीलाई उच्च शिक्षा पढाउनुभएको छ ।
खेतीको सिजनमा उहाँले दैनिक दुई हजार रुपैयाँसम्म कमाइ गर्नुहुन्छ । सबै खर्च कटाएर मासिक दश हजार रुपैयाँ बचत हुन्छ । लोप हुँदै गरेको आरन व्यवसाय अहिले धेरैका लागि स्वरोजगार माध्यम बनेको छ । कोरोनाका कारण देशभर लकडाउन हुँदा समेत आरन व्यवसायीलाई खासै असर परेन ।
आफ्नो पुर्ख्याैली पेसालाई निरन्तरता दिँदै उनीहरु धेरै स्वरोजगार बनेका हुन । लकडाउन भए पनि कृषिका कामहरु संचालन भइरहेकाले काममा खासै असर परेन । घरपरिवारका सदस्यले रोजगारी गुमाएर घरमै बस्नुपर्यो । यस्तो समयमा आफूले गरेको व्यवसायले ठूलो आडभरोसा दिएको बताउनुहुन्छ, वीरेन्द्रनगरका पदम बहादुर थलाल ।
छोराछोरीको काम बन्द हुँदा आरन व्यवसायबाटै परिवारको खर्च धानेको उहाँले बताउनुभयो । ‘अरु सबै बसे । मेरो काम चलिरह्यो । खेतीकिसानी गर्ने दैनिक तीन/चार जना समाग्री बनाउन आइरहन्थे । दैनिक पाँच/छ सय कमाउथेँ’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।