काठमाण्डौ - आउँदाे मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ ।
स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने जनाइएको छ । काठमाण्डौ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच भएको छलफलले यस निर्णय गरेको र आउँदाे दुई गतेबाट भने बन्द संरचनाभित्र व्यवस्थित रुपमा सेवा सञ्चालन हुने सडकमा खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिनुभयो ।
असहाय, अशक्त र शारीरिक रुपमा काम गर्न नसक्नेलाई मानवसेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिककका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाण्डौ महानगरपालिकाले अनुरोध गरेको छ । यस आश्रम काठमाण्डौ महानगरपालिकाको सहकार्यमा सञ्चालित छ ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले त्यस्ता सडक मानवलाई यसअघि सेवा दिइरहेको र आउँदाे दिनमा पनि सेवा दिन तयार रहेको जानकारी दिनुभयो । उहाँका अनुसार देशका २२ शाखामार्फत अहिले झण्डै एक हजार २०० ले यसरी सेवा पाइरहेका छन् ।
अधिकारीले महानगरको सहकार्यमा उपत्यकालाई सडक मानवरहित बनाउने अभियान जारी रहेको बताउनुभयो । अन्य व्यक्तिको हकमा भने बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न सम्बद्ध संस्थालाई महानगरपालिकाले अनुरोध गरेको छ ।
काठमाण्डौ महानगरपालिकाले एक सूचना नै जारी गरी सबै सामाजिक सङ्घ संस्थालाई बन्द संरचना भित्र उक्त सेवा सञ्चालन गर्न भनेको छ । त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग रहने जनाइएको छ ।
महानगरपालिकाले कोभिड-१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको छ । आश्रमसँगको सहकार्यसँगै काठमाण्डौ महानगरपालिकाले घोषणा गरेको ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ र ‘काठमाण्डौ मानवीयताको नगर’ अनुरुप स्रोत साधनले भ्याएसम्म राहत वितरण, सामूहिक भोजन सेवा, रोगको सङ्क्रमण नियन्त्रण रोकथामको कार्य सञ्चालन गरिएको जनाएको छ ।
यस कार्यमा सहयोग गर्ने सबै संस्था तथा व्यक्तिलाई महानगरले धन्यवाद समेत दिएको छ । सडकमा मजदूरलाई खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक पन्तले अहिले सडकमा खाना खुवाउने क्रम जारी रहेकाले महानगरसँग सहकार्य गरेर मङ्सिर दुई गतेबाट थप व्यवस्थित गरिने जानकारी दिनुभयो ।
अन्तिम अपडेट: कात्तिक २८, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।