समृद्धि र सुखका लागि एकताबद्ध हाेऔँ : प्रधानमन्त्री

 कात्तिक ३०, २०७७ आइतबार ६:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिककाे सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान  गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनुभयो । 

सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ भन्नुभयो । 

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वानसमेत गर्नुभएको छ । 

उहाँले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिङ्गो राष्ट्रका साझा पुँजीका रूपमा अङ्कित रहेको उल्लेख गर्नुभयो । 'एकताको यस राष्ट्रिय पुँजीलाई हामीले देश निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौँ', उहाँले सन्देशमा भन्नुभएको छ, 'हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरूलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौँ ।'

शङ्खधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणलाई ऋणबाट मुक्त बनाइ स्वतन्त्रता दिलाउनुभएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्वतका रूपमा मनाइँदै आइएको छ । नेपाल सम्वतकाे यस अवसरमा प्रधानमन्त्री ओलीले  काठमाण्डौ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्तका प्रवर्तक शङ्खधर साख्वाःको विशेष स्मरण गर्नुभएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया