फेरि एकपटक बिहारकाे मुख्यमन्त्रीकाे रूपमा शपथ लिँदै नीतीश कुमार

 कात्तिक ३०, २०७७ आइतबार १७:१६:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको जनता दल (युनाइटेड) का प्रमुख नीतिश कुमारले सोमबार अपराह्न साढे चार बजे मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा सर्वसम्मतिले नीतीश कुमारलाई विधायक दलका नेताका रुपमा चयन गरेको हो । विधायक दलका नेताका रुपमा चयन भएपछि उनले बिहारका राज्यपालसँग भेटवार्ता गरेका छन् । भेटमा नीतीश कुमारलाई सरकार बनाउन राज्यपालले निमन्त्रणा दिएकाे बताइएकाे छ । 

नीतीश कुमारले भनेका छन्, ‘एनडीए बैठकमा मलाई फेरि एक पटक आफ्नो नेताका रुपमा चयन गरेको छ । राज्यपाललाई हामीले पत्र दिएका छौँ, उनले पत्र स्वीकार गर्दै मलाई मुख्यमन्त्रीको रुपमा मनोनित गरेका छन् । भोलि क–कसले शपथ लिन्छ भन्ने अहिले थाहा हुनेछ ।’

विधायक दलका नेता चयन भइसकेपछि नीतिश कुमारले आफू मुख्यमन्त्री बन्न नचाहेको तर बीजेपीको आग्रहमा फेरि एक पटक मुख्यमन्त्री पदको शपथ लिने बताए ।

राज्यपालसँग भएको बैठकपछि उनले सञ्चारमाध्यमसँग कुरा गर्दै सोमबार अपराह्न चार बजे शपथ ग्रहण समारोहको आयोजना गरिने बताए ।

नीतीश कुमार सोमबार सातौँ पटक बिहारका मुख्यमन्त्री पदको शपथ लिने छन् । तर बिहारका उप–मुख्यमन्त्री को बन्छ भन्ने यकिन भइसकेको छैन ।  

राजभवन बाहिर रक्षामन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता राजनाथ सिंहलाई 'के सुशील मोदी नै बिहारका उपमुख्यमन्त्री हुन्छन् ?' भनेर सोधिएको थियो । त्यसको उत्तर दिँदै उनले भने, ‘उचित समय आएपछि यसको जवाफ दिइनेछ, केही समय पर्खनुहोस् ।’  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया