आजदेखि खुलामञ्चसहित सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द

काम गर्न सक्नेलाई रोजगारी र अरूलाई व्यवस्थित रुपमा संरक्षण गर्ने मेयर शाक्यको भनाइ

 मंसिर २, २०७७ मंगलबार ७:२३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज (मङ्गलबार) देखि खुला ठाउँमा खाना खुवाउन बन्द हुने भएको छ । काठमाण्डौको खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क भोजन सेवा सञ्चालन नगरिने भएको हो ।

स्वास्थ्य चुनौती र कोरोना सङ्क्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो । काठमाण्डौ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन गर्ने यसअघि सहमति भएको थियो ।

सहमतिअनुसार अबदेखि भोजन खुवाउन वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क भोजन खुवाइने छैन । असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिकका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाण्डौ महानगरपालिकाले अनुरोध गरेको छ ।

मानव सेवा आश्रम काठमाण्डौ महानगरपालिकाको सहकार्यमा सञ्चालित छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले निःशुल्क भोजन गराउनु पर्नेलाई सेवा दिन तयार रहेको बताउनुभयो । उहाँका अनुसार देशका २२ शाखामार्फत झण्डै एक हजार दुई सय जनाले निःशुल्क भोजनको सेवा पाइरहेका छन् ।

काठमाण्डौ महानगरपालिकाले पनि सबै सामाजिक सङ्घ संस्थालाई बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ । त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग हुने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

महानगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका तर श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको छ । काम गर्न सक्नेलाई रोजगारी दिने तथा शारीरिक र मानसिक रूपमा अशक्तलाई परिवारमा बुझाउने वा त्यो सम्भव नभए लालनपालन, औषधाेपचारसहित संरक्षण गर्ने पनि मेयर शाक्यले बताउनुभयो ।

खुलामञ्चमा गएको चैत १४ गतेदेखि निःशुल्क खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक विमल पन्तले महानगरपालिकासँग समन्वय गरी निःशुल्क भोजन व्यवस्थित रूपमा खुवाउने बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया