ठाउँ तोक्न नसक्दा खुलामञ्चमै खाना खुवाइयो

 मंसिर २, २०७७ मंगलबार १३:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खाना खुवाएको छ । महानगरले ठाउँ तोक्न नसकेपछि खुलामञ्चमै खाना खुवाइएको हाम्रो टिम नेपालले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।

महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा भेला नगराइ कुनै पनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन विभिन्न सङ्घ संस्थालाई आग्रह गरेको थियो । त्यही सम्झौताअनुसार मङ्गलबारदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताउनुभयो । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भए पनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उहाँले बताउनुभयो । 

खाना खान आउने मानिसहरुले भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘कि काम देऊ होइन भने खान देऊ’ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आएर निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको उनीहरुले बताएका छन् । सडकमा बसेर खाना खान आफूहरुको रहर नभइ बाध्यता भएको पनि उनीहरुले बताए । 

काठमाण्डौ महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउँदा सङ्क्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ । व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहयोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया