नीतीश कुमार मन्त्रिमण्डलका आधाभन्दा धेरै मन्त्रीमाथि आपराधिक मुद्दा दर्ता, १४ मन्त्रीमध्ये १३ जना करोडपति

 मंसिर ३, २०७७ बुधबार २०:१७:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको बिहार राज्यमा गएको १६ नोभेम्बरमा शपथ लिएका १४ मन्त्रीमध्ये आठ जनाविरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । मन्त्रिमण्डलको ५७ प्रतिशत मन्त्रीमाथि आपराधिक मुद्दा दर्ता भएको हो । 

भारतमा चुनाव र चुनाव लड्नेमाथि नियमन गर्ने संस्था एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले यस्तो जनाएको हो । 

६ जना मन्त्रीविरुद्ध गम्भीर आपराधिक मुद्दा दर्ता भएको छ । जमानत नपाउने र मुद्दामा दोषी पाइसकेपछि पाँच वर्षभन्दा धेरै सजाय हुन सक्ने व्यवस्थालाई गम्भीर मुद्दा भनिन्छ ।

जनता दल (यू) का दुई, बीजेपीका चार र एक–एक हम र भीआईपी पार्टीका मन्त्रीविरुद्ध दर्ता भएको हो ।  

यसका साथै १४ मन्त्रीमध्ये १३ करोडपति हुन् । जनता दल–यू का मेवालाल चौधरी सबैभन्दा धनी मन्त्री हुन्, उनीसँग १२ करोड भारुभन्दा धेरै सम्पत्ति भएको बताइएको छ । त्यस्तै सबैभन्दा गरिब भनिएका जनता दल–यू कै अशोक चोधरीको सम्पत्ति ७२ लाख भारु भएको बताइएको छ ।

यीमध्ये चार मन्त्रीले मात्र आठदेखि १२ कक्षासम्म पढाइ गरेका छन्, त्यस्तै १० मन्त्रीले स्नातक वा त्योभन्दा धेरैको पढाइ गरेका छन् ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया