अमेरिका : कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे दुई लाख नाघ्यो, न्यूयोर्कमा विद्यालयहरू बन्द गर्न आदेश

 मंसिर ४, २०७७ बिहिबार ११:२५:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे दुई लाख नाघेको छ ।

अमेरिकामा अहिलेसम्म १ करोड १८ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट २ लाख ५६ हजारभन्दा धेरैको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ । अमेरिकामा फेरि एकपटक देशभरि नै गम्भीर रुपमा कोराना सङ्क्रमितको संख्या बढिरहेको छ ।

कोरोना भाइरसका कारण ज्यान गएकाको संख्या र सङ्क्रमणका आधारमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा अहिले दैनिक सङ्क्रमितको नयाँ रेकर्ड भइरहेको छ । अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले महत्वपूर्ण समयमा देश गलत दिशामा गइरहेको टिप्पणी गर्नुभएको छ ।

फाउचीले नयाँ सङ्क्रमण बढेसँगै मृतकको सङ्ख्या थपिन सक्ने चेतावनी दिनुभएको छ । कोरोना भाइरसको केन्द्र रहेको न्यूयोर्क सहरले सङ्क्रमण बढ्ने अनुमानका साथ आजदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ । रेस्टुरेन्ट र जिमखाना भने खुला रहने बीबीसीको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया