मन्त्रीकाे निर्देशन : ‘धाेबीखाेला करिडाेरकाे काम १ वर्षभित्र सक्नू’

 मंसिर ५, २०७७ शुक्रबार १९:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिनुभएको छ ।

करिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गरेपछि मन्त्री श्रेष्ठले एक वर्षभित्र सम्पूर्ण निर्माणको काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उहाँले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिनुभयो । पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

करिडोरको फुटपाथको व्यवस्थापन पनि हुन नसकेकोले त्यतातर्फ पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । करिडोर कालोपत्र गर्ने कामका लागि ठेक्का सम्झौता भइसकेकाले छिटो काम तोकिएकै समयमा सक्न उहाँले निर्देशन दिनुभयो ।  

उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ठेक्का भएअनुसारको काम यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत भएको उल्लेख गर्दै उहाँले १६ किलोमिटर सडक कालोपत्रे भइसकेको पनि बताउनुभयो । 

मुआब्जा वितरणसमेत गरेर तीन अर्ब ६० करोडमा करिडोर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । शुक्रबार करिडोर निर्माणको प्रगतिका विषयमा मन्त्रीसहितकाे टोलीले स्थलगत अनुगमन गरेको हाे । लामो समय अलपत्र परेको करिडोर निर्माणको कामले अब गति लिने विश्वास प्राधिकरणले गरेको छ ।

विगतमा फरक–फरक निर्माण कम्पनीहरूले ढल बिछ्याउने र सडक कालोपत्र गर्ने ठेक्का पाउँदा समन्वय हुन सकेको थिएन, जसका कारण निर्माणको कामले गति लिन सकेन । अहिले एउटै निर्माण व्यवसायीले ढल बिछ्याउने र सडक कालोपत्र गर्ने काम पाएपछि निर्माणमा सहजता आउने विश्वास प्राधिकरणको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया