उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

 मंसिर ६, २०७७ शनिबार ७:१३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ ।

बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् । कतिपय ठाउँमा भने जलाशयमा नै  पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् ।हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ । 

कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ । चार दिनसम्म मनाइने लोकपर्व छठ यसपालि पोहोर परारको भन्दा फरक देखियो ।

कोरोना महामारीका कारण यसपालि पोहोर परारको जस्तो रौनक नभए पनि व्रतालुले विधि पूर्वक पूजा आराधना गरेका छन् । सहरी क्षेत्रमा सामूहिक रुपमा छठ मनाउनेहरुले केही स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे पनि ग्रामिण क्षेत्रमा मापदण्ड पालना भएको छैन । 

तराईका केही नदी, पोखरी, तलाउमा भने सामान्य अवस्थामा झैँ भीडभाड भएपछि प्रहरी परिचालन गरिएको थियो । कोरोनाको जोखिमका कारण यसपालि सरकारले  भीडभाड नगरि पर्व मनाउन आग्रह गरेको थियो ।

 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया