लमजुङ : घलेगाउँमा झण्डै ८ महिनापछि पर्यटकको चहलपहल, व्यवसायी उत्साहित

 मंसिर ६, २०७७ शनिबार १२:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ - लमजुङको क्होलासोथर गाउँपालिका-३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् ।

कोभिड-१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गएकाे साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०/३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका घरबासका सञ्चालक दीर्घराज घलेको भनाइ छ । घलेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छ्रे, मनास्लु, हिमालचुली, ङादीचुली (डा हर्क हिमाल) र बुद्ध हिमाल देख्न सकिन्छ ।

सूर्योदय र सूर्यास्त, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय पनि हेर्न सकिन्छ । सदरमुकाम बेँसीसहरबाट यो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै गाडीमा झण्डै तीन घण्टा र पैदलयात्रा गरेमा झण्डै पाँच घण्टा समय लाग्छ ।

२०५७ सालबाट सुरु भएको घलेगाउँ घरबास जिल्लाकै पहिलो हो । गाउँका १२५ घरधुरीमध्ये ३७ घरमा घरबास सञ्चालनमा रहेको समितिले जनाएको छ । यहाँका सबै घरका छाना जस्तापाता रहेको देख्न सकिन्छ साथै सबै छानो रातो रङको छ । लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो ।

यही नामबाट क्होलासोथर गाउँपालिका रहेको छ । पुर्खौँपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयबासिन्दाको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको यहाँ बाक्लो बस्ती तथा बसोबास रहेको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया