बर्खे तरकारी किलाेकाे ५० रुपैयाँसम्ममा बिक्री भएपछि बैतडीका किसान हर्षित

 मंसिर ७, २०७७ आइतबार १७:५८:२२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बारीमा उत्पादित बर्खे तरकारीको भाउ राम्रो पाएपछि बैतडीका किसानहरू खुसी भएका छन् । अन्य वर्षको तुलनामा यो वर्ष तरकारीको भाउ राम्रो पाइएकाले बर्खे तरकारीबाट फाइदा भएको दशरथचन्द नगरपालिका १ को सतबाँझका किसान कृष्णदत्त भट्टले बताउनुभयो । 

यो वर्ष भारतबाट तरकारी आयात नहुँदा किसानहरूले बारीमा फलाएको तरकारीले बजार मूल्य राम्रो पाएको हो । अघिल्ला वर्षहरुमा प्रतिकेजी १० रुपैयाँमा बिक्री हुने बन्दा यो वर्ष ५० रुपैयाँका हिसाबले बिक्री भएको किसान भट्टले बताउनुभयो ।

बन्दाबाटै आफूले यो वर्ष दुई लाख रुपैयाँभन्दा धेरै कमाएको भट्टले बताउनुभयो । गएका वर्षमा बजार मूल्य नपाउँदा बारीमै बन्दा राख्नुपरेको तितो अनुभव भए पनि यो वर्ष तरकारीले समयमै राम्रो बजार मूल्य पाएको किसान कृष्णबहादुर बोहराले बताउनुभयो । भारतबाट तरकारी आयात नभएपछि आफूहरुले फलाएको तरकारीले बजार पाएको उहाँले बताउनुभयो ।

बारीमा लगाएको बन्दा गएको वर्ष बजार भाउ नपाउँदा प्रतिकेजी सात रुपैयाँका हिसाबले बिक्री गर्नुभएका सुर्नया गाउँपालिका ६ का किसान केशवदत्त अवस्थीले यो वर्ष बन्दा प्रतिकेजी ४० रुपैयाँका हिसाबले बारीबाटै बिक्री गरेको बताउनुभयो ।

भारतीय तरकारीको बजारमा दबदबा रहेका बेला लकडाउनले गर्दा किसानलाई भने फाइदा भएको छ । बारीमा फलाएको सबै तरकारी यो वर्ष बजारमा राम्रो मूल्यमा बिक्री भएको किसानहरूले बताएका छन् । बैतडीबाट यो वर्ष ५० हजार क्विण्टल बन्दा बिक्री भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । 

बैतडीमा चार हजार ६ सय हेक्टर जमिनमा तरकारी खेती हुँदै आएको छ । प्रत्येक वर्ष व्यावसायिक तरकारी खेती गर्ने किसानहरुको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दले बताउनुभयो ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया