सिन्धुलीमा पनि कोरोना परीक्षण सुरु

 मंसिर ७, २०७७ आइतबार २०:१५:१३ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुलीमा आइतबारदेखि कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन सुरु भएको छ ।

सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश सरकारले सिन्धुली अस्पताललाई पीसीआर मेसिन सहयोग गरेसँगै कोरोना परीक्षण सुरु गरिएको हो । वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले कोभिड–१९ सदरमुकाम सिन्धुलीमाढीमा पीसीआर मेसिनको उद्घाटन गर्नुहुँदै सहज रुपमा गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो ।

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै वाग्मती प्रदेश सरकारले हेटौँडा, काभ्रे, भक्तपुर, त्रिशूली र सिन्धुलीमा पीसीआर मेसिन जडान गरी सेवा दिएको उहाँले बताउनुभयो ।  

सिन्धुली अस्पताललाई ५० शय्याबाट क्षमता विस्तार गरी एक सय शय्या पुर्‍याउन प्रदेश सरकार लागेको र ‘बी ग्रेड’ एम्बुलेन्स यसै महिनाभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो ।

सिन्धुली अस्पतालको मातहतमा रहने गरी कमलामाई नगरपालिका शिवनगरमा पीसीआर मेसिन जडान गरी ल्याब स्थापना गरिएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोख्रेलले प्रदेश सरकारको झण्डै एक करोड २५ लाख लागत र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ बराबरको व्यवस्थापन खर्चमा ल्याब सञ्चालनमा ल्याइएको बताउनुभयो ।

पीसीआर मेसिन जडानसँगै तीन जना प्राविधिक टोलीले परीक्षणका लागि २० जनाको स्वाब नमुना जाँच गर्दा सफल भएको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया